सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीले जुम्ल्याहा बच्चाको मृत्यु भएको पीडितहरुले आरोप लगाएका छन् ।
धरान–१५ बस्ने ३० वर्षीया सविना श्रेष्ठ सुत्केरी व्यथाले च्यापेपछि प्रतिष्ठान भर्ना भएकी थिइन् । श्रेष्ठको गर्भमा रहेको जुम्ल्याहा बच्चामध्ये एउटा गर्भमा नै मृत्यु भएको र अर्को बच्चा जीवितै हुनसक्ने भन्दै प्रतिष्ठानका चिकित्सकले अपरेशन गरेका थिए । अपरेशनपश्चात् दुवै बच्चाको मृत्यु भएको पाइएको चिकित्सकले जनाएका छन् । हाल आमाको अवस्था सुरक्षित छ ।
चिकित्सकले त्यति ध्यान नदिई लापरवाहीले गर्दा बच्चाको मृत्यु भएको भन्दै अस्पतालको गेटअगाडि नाराबाजी र होहल्ला गर्न थालेपछि केहीबेर तनावको स्थिति पैदा भएको थियो । होहल्ला हुन थालेपछि प्रहरी पुगेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी दिवस कुँवरले जानकारी दिए ।


















