काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सोमबार राति बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
कुलमानलाई जिम्मेवारीबाट हटाउने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले विरोध जनाएका छन् ।महामन्त्री थापाले घिसिङलाई पदबाट हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको टिप्पणी गरेका छन् । महामन्त्री थापाले फेसबुकमार्फत सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? ‘
अर्का महामन्त्री शर्माले घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताएका छन् । उनले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको समेत बताएका छन् ।‘कारबाहीयोग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । यसप्रति खुला र प्रस्ट रूपमा विमति छ’, शर्माले भनेका छन् ।
यस्तै कुलमान हटाउने निर्णयको प्रमुख प्रतिपक्षी माओवादी आक्रोशित देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घिसिङ हटाएकोमा सरकारको निन्दा गरेका छन् । प्रचण्डले भनेका छन्, ‘उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ । उनै कुलमानलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेका कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौँ यो खबर असत्य साबित होस् । ’
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले मैनवत्ती बालेर सरकारको निर्णयको विरोध गरेका छन् । सांसद तोसिमा कार्कीले पनि घिसिङलाई हटाउने सरकारको निर्णयको आलोचना गरेकी छन् । कुलमान हटाउने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया