विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई समृद्ध र सुखी बनाउन चार वटा सुत्र बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकाले बिहीबार आयोजना गरेको पार्क सिलान्यास कार्यक्रममा कोइरालाले मुलुक समृद्ध बनाउन धेरै ठूला कुराभन्दा चार वटा क्षेत्रमा काम गरे पुग्ने बताएका हुन् ।

उनले सोलर तथा जल विद्युत, प्रविधियुक्त कृषि, पर्यटन र डिजिटलाइजेशनले नेपाल समृद्ध र सुखी हुने बताएका छन् । ‘क्लिन इनर्जी प्राप्त हुने विद्युत उत्पादनका लागि नेपालमा खुलेका इञ्जिनियरिङ कलेजले उत्पादन गरेको इञ्जिनियरहरुलाई काममा लगाउन सक्नु पर्छ,’ उनले भने, ‘अपर कर्णाली जलविद्युत आयोजना बनाउने बेला नेपाल सरकारले २ सय विद्यार्थीलाई इञ्जिनियर अध्ययनका लागि भारत पठाएका थिए तर अहिले अवस्था फरक छ । देशमा नै इञ्जिनियर कलेजहरु खुलेको छ । त्यहाँको उत्पादन उपयोग गरेर विद्युत क्षेत्रमा उपलब्धी हासिल गर्न सकिन्छ ।’

कोइरालाले अहिलेको प्रविधि युगमा अब परम्परागत खेतीले जीवन गुजारा पनि गर्न नसक्ने अवस्था आएको बताएका हुन् । ‘धन, गहुँ खेती गरेर मात्रै कृषि पेसा अघि बढ्न सक्दैन, युवाहरुलाई उद्यमशील बनाएर सूचना प्रविधिको प्रयोग गरी खेती गर्न सिकाउन सक्यौँ भने मात्रै फड्को मार्न सकिन्छ,’ उनले भने, ‘पहाडमा जडिबुटी खेती गर्न सकिन्छ । नेपालको जडिबुटी दुबै छिमेकीले त्यसै लगिरहेको अवस्थामा हामीले नै प्रशोधन केन्द्र बनाएर अघि बढ्न सक्नु पर्छ । अबको दिनमा विश्वभरि नै चरम महंगी हुने अवस्था निर्माण हुँदै छ । त्यसबाट सचेत हुनु आवश्यक छ । प्रविधियुक्त खेती अघि बढाउन सक्नुपर्छ ।’

धार्मिक पर्यटन नेपालका लागि अत्यन्तै महत्वपूर्ण भएको कोइरालाको भनाइ छ । ‘छिमेकी भारतको एक करोड मात्रै पर्यटक भित्र्याउन सक्यौँ भने नेपालको कूल ग्राह्स्थ्य उत्पादन अत्यन्तै धेरै बढेर जान्छ,’ उनले भने, ‘पर्यटनमा असिमित संभावना भएको देशमा पनि हाम िदिन प्रतिदिन पछि पर्दै गएका छौंँ त्यसैले अब ढिलो नगरी यी क्षेत्रहरुमा अघि बढ्न सक्नु पर्छ ।’

सिटिभिटिले समय सुहाउँदो सीपयुक्त सूचना प्रविधिको कोर्ष डिजाइन गरेर छिमेकी देशका विद्यार्थीहरुलाई आकर्षित गर्न सक्नुपर्ने कोइरालाले बताएका छन् । ‘जुनसुकै क्षेत्रमा सूचना प्रविधिको उपयोग गर्न सक्नुपर्छ, त्यसले मात्रै मानव जीवन सहज र सुलव बन्न सक्छ,’ उनले भने, ‘नेपाल अमेरिका भन्दा १२ घण्टा अगाडि छ, हामी काम गरिरहेको बेला अमेरिकाका मानिस सुतिरहेका हुन्छन् । अमेरिका सुतिरहेको समयलाई हामी कसरी उपयोग गर्न सक्छौँ त्यतातर्फ सोच्न सक्नु पर्छ ।’

कोइरालाले परम्परागत सोचबाट माथि उठेर सूचना प्रविधिको सहयोग र प्रयोगले सबैलाई गुणस्तरीय जीवन जीउने सीप राज्यले प्रदान गर्नुको विकल्प नभएको बताएका हुन् ।

तपाईको प्रतिक्रिया