इटहरी : सुनसरीमा अपहरणमा परेकी बालिकाको बिहीबार सकुशल उद्दार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाका अनुसार बुधबार दिउँसो १ः४० बजेतिर कोशी गाउँपालिका वडा नं. ७ मुसहरी टोल बस्ने कुशेश्वर सदाकी सात वर्षीया छोरी ईशु सदालाई घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारी चढाएर अपहरण गरेको प्रहरीमा सूचना आएको थियो ।
उक्त सूचनाका आधारमा डीएसपी योगराज खतिवडाको नेतृत्वमा टोली परिचालन भएको थियो ।खतिवडाको कमाण्डमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ‘प्रोभिन्स इन्भेस्टिगेसन टिम’समेत परिचालन भएको थियो ।अपहरणमा परेको २४ घण्टाभित्रै ती बालिकाको उद्दार गर्न सफल भएको एसपी तिम्सिनाले जानकारी दिए ।
‘हामीले आज (बिहीबार) दिउँसो सप्तकोसी नदीको पुलस्थित २६ नम्बरको ढोकाबाट फेला पारेका हौँ,’ एसपी तिम्सिना भन्छन्, ‘कुनै मानवीय क्षति हुन नदिन र घटनामा संलग्नलाई नियन्त्रणमा लिन सफल भएका छौँ ।’बालिकाको अपहरणमा संलग्न सप्तरीको कञ्चनरूप नगरपालिका– १२ धरमपुरका ३१ वर्षीय जितुवा भनिने जितेन्द्र साह (हलुवाई)लाई पक्राउ गरिएको हो । अपहरणमा परेकी ती बालिकालाई भारततर्फ लगेको हुनसक्ने आशंकामा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरिरहेपनि सुनसरीतर्फ नै पर्ने सप्तकोसी पुलबाट पक्राउ गरेको एसपी तिम्सिनाले जानकारी दिए ।
खासगरी बालिका अपहरणमा परेको सूचना आएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको थियो ।‘बालिका अपहरणमा परेको सूचना आएपछि हामीले सिसिटिभी फुटेज हेरेर खोजीलाई तीव्र बनाएका थियौँ,’ एसपी तिम्सिना भन्छन्, ‘पक्राउ परेका साहले यसअघि पनि नेपाल र भारत दुवै देशमा चोरी गर्ने र बालबालिकालाई अपहरण गर्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
खासगरी साह भारतमै बसोबास गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी विभिन्न कोणबाट अनुसन्धान जारी राखेको एसपी तिम्सिनाले बताए ।

तपाईको प्रतिक्रिया