धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ आँपगाछीबाट प्रहरीले १९ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी अमरहाटको टोलीले लागुऔषध गाँजा बरामद गरेर बाबु छोरासहित ३ जनालाई पक्राउ गरेको छ । धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटो टेम्पोलाई शंका लागेर चेकजाँच गर्दा १८ वटा पोका बनाएर ल्याइएको १९ किलो गाँजा फेला परेको प्रहरीको भनाइ छ ।
गाँजा भेट्नसाथ अटो चालक धरान–४ का ४८ वार्षीय जोकबहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का ३६ वर्षीय सुरज लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जेबगूले बताए । उनका अनुसार पक्राउ परेकाहरुले गाँजा कहाँबाट ल्याइएका हुन् र कता लग्दै थिए भनेर खुल्न बाँकी छ ।
पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।


















