विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको पोखरिया माध्यमिक विद्यालयमा विद्यार्थी बोक्न प्रयोग हुँदै आएको गाडी शिक्षकको आन्दोलनमा लगेर दुरुपयोग गरिएको छ ।
लामो समयदेखि शैक्षिक गतिविधि ठप्प पारेर नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित आन्दोलन भइरहेको छ । महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी हुन जाँदा शिक्षकले विद्यालयको गाडी दुरुपयोग गरेका हुन् ।
पोखरिया माविको प्र १–०२–००१ ग ०२४८ नम्बरको गाडी लिएर आन्दोलनका लागि शिक्षकहरु बुधबार काठमाडौंतिर लागेका छन् । प्रधानाध्यापक खेमराज भट्टराईले आफूसहित ४२ जना शिक्षक आन्दोलनका लागि काठमाडौं हिँडेको जानकारी दिए ।
आन्दोलनमा गाडी लिएर गएको विषय विद्यालयकी शिक्षिका रीता दाहाल पाठकले आफैं फेसबुकमा फोटोसहित पोस्ट गरेकी छन् । ‘४५ जना शिक्षक साथीहरु सहित श्री पोखरिया मावि विराटनगर–३ मोरङको आफ्नै बसबाट नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएको बृहत शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं आउनु हुँदै । शिक्षक, विद्यालय कर्मचारी एकता जिन्दावाद !! हाम्रो आन्दोलन, हाम्रो सहभागिता !!,’ उनले लेखेकी छन् ।
विद्यार्थी ओसारपसारमा प्रयोग गर्नुपर्ने गाडी आन्दोलनमा लगिएपछि चौतर्फी आलोचना भइरहेको छ । अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी विद्यालयको यातायातको साधन कर्मचारी र विद्यार्थीले प्रयोग गर्न पाउने बताउँछन् ।

तपाईको प्रतिक्रिया