विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशका सांसद रामकुमार खत्रीले अन्तरजातीय विवाह गरेका छन् ।
उदयपुरको निर्वाचन क्षेत्र २ (२)बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद खत्रीले उदयपुरको कटारी नगरपालिका–५ की सपना गुरुङसँग विवाह गरेका हुन् । काठमाडौंमा सामान्य ढंगले विवाह गरेका खत्रीले विवाह भोजमा लाग्ने खर्च वृद्धाश्रमलाई दिने घोषणा गरे ।
भोज नगरेर बचाएको १ लाख रुपैयाँ कटारी–३ मा रहेको कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई हस्तान्तरण गरिने उनको भनाइ छ । खत्रीले बुधबार गुरुङसँग बिहे गरेका हुन् । उनी कोशी प्रदेशका पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री हुन् ।
‘विवाहमा २ परिवारका आफन्तलाई बोलाइएको थियो । धेरै तामझाम गर्दा राम्रो सन्देश नजाने र खर्च पनि धेरै हुने ठानेर त्यसो गरिएको हो । बिहेमा भोज नगरी वृद्धाश्रमलाई १ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु,’ उनले भने ।

तपाईको प्रतिक्रिया