सुनसरीको कोशी गाउँपालिकामा बिहीबार अपरान्ह आगलागी भएको छ । कोशी–६ मा आगलागी हुँदा ५ परिवारका १० घर जलेर ध्वस्त भएको छ ।
आगलागीमा ६० लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । गाईवस्तुलाई लाग्ने झिँगा र लामखुट्टे धपाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ ।
आगोले बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । आगोले बाबुनन्द गोइतको घरभित्र रहेको १ लाख नगद जलेको बताइएको छ । आगोले १० वटा घरसहित घरभित्र रहेका फर्निचर, खाद्यान्न, लत्ताकपडा, सुनचाँदी, नगदसहित सम्पूर्ण सामग्री जलेर खरानी भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बाबुन्दको घरबाट आगलागी सुरु भएको हो । नेपाल र सशस्त्र प्रहरी, स्थानीय तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्दै घटनाको अनुसन्धान सुरु गरेको छ ।


















