नेसनल मेडिकल कलेज वीरगन्जमा शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ।

विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्।

‘धर्नाका क्रममा कलेज प्रशासनबाट आएका व्यक्तिले आक्रमण गरे,’ एक विद्यार्थीले भने।

प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए। यो घटना भएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा पुगेका थिए। उनीहरू राति साढे १२ बजेसम्म प्रहरीमा बसेका थिए।

उनीहरूले राति कलेजविरूद्ध निवेदन दिन खोजेका थिए। समय अवेर भइसकेको भन्दै प्रहरीले निवेदन नलिएको ती विद्यार्थीले बताए।

विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए। मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो। आक्रमणम नै गर्न थालेपछि विद्यार्थी र्‍यालीसहित प्रहरीमा पुगेका थिए।

कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले धर्नाका क्रममा विद्यार्थीसँग भनाभन भएको बताए। तर, आक्रमण भएकोबारे आफूलाई जानकारी नभएको बताए।

नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्। शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो।

तर, उक्त निर्देशन दिएको एघार दिन पुगे पनि बढी उठाइएको शुल्क फिर्ता नभएपछि विद्यार्थी धर्नामा बसेका थिए। पर्सा प्रहरीले विद्यार्थीले सुरक्षा मागेको बतायो। प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले धर्नामा कलेज या बाहिरका व्यक्तिले दुर्व्यहार गरेको गुनासो आएपछि सुरक्षा बढाएको बताए।

नेसनल मेडिकल कलेजले एमबिबिएसमा सय सिट संख्यामा विद्यार्थी भर्ना गरिरहेको छ। त्यहाँ अध्ययनरत् अधिकांश विद्यार्थीले कलेजले अतिरिक्त शुल्क उठाएको बताइरहेका छन्। सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।

होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले जथाभावी शुल्क उठाइरहेको छ। शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको विद्यार्थीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया