काठमाडौँ । शीतलहर सुरु भएसँगै अत्यधिक चिसो बढेर तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । गत मंगलबारदेखि जनकपुरधाम, वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, लहान र राजविराजलगायतमा बिहान बाक्लो हुस्सु लाग्ने गरेको छ । चिसोबाट जोगिन घर र चोकहरूमा भेला भएर धुनी बालेर ताप्ने क्रम बढेको छ ।

जाडोले किसान, विद्यार्थी, कर्मचारी र बिरामीलाई कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हुस्सु, शीतलहर र कुहिरोले ढाकेको जनाएको छ । पश्चिम, मध्यतराई र पूर्वी तराईको तापक्रममा गिरावट आएकाले चिसो बढेको हो । बिहीबार बिहान ९ बजे प्रकाशित विभागको मौसम प्रतिवेदनअनुसार जनकपुरको तापक्रम राति ७ डिग्री सेल्सियस र बिहान १० डिग्री रेकर्ड भएको छ । विभागले थप केही दिन शीतलहरको प्रभाव कायमै रहनेसमेत जनाएको छ ।

जाडो, हुस्सु तथा पश्चिमी बतासका कारण जनकपुरसँगै धनुषाको जनजीवन प्रभावित भएको छ । मौसमको खराबीका कारण जनकपुर विमानस्थलबाट हुने हवाई सेवा प्रभावित छ । यातायातका साधन तथा सेवाप्रदायक कार्यालयहरूमा सेवाग्राहीको संख्यामा कमी आएको छ । बिहीबार यस वर्षकै सबभन्दा जाडो दिन मापन गरिएको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय जनकपुरले जनाएको छ ।

थालियो जोगिने तयारी

जाडोबाट हुने क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले शीतलहर पूर्वतयारी तथा प्रतिकार योजना २०७६ लागू गरेको छ । जिल्लाका १८ वटै स्थानीय तहलाई लक्षित गरी सुरु गरिएको उक्त योजनाअन्तर्गत विपन्न समुदायलाई कम्तीमा एक थान न्यानो लुगा वितरण गर्ने र आगो बालेर धुनी लगाउने व्यवस्था गर्न सूचना जारी गरेको छ । चिसोका कारण बिरामी बढ्न सक्ने भएकाले स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिइएको छ ।

सडक पेटी, रेल्वे स्टेसन तथा विभिन्न धर्मशालामा अव्यवस्थित रूपमा रात बिताउनेको झन् बिजोग छ । न्यानो लुगा नभएका विपन्न परिवारका सदस्यहरू दैनिक काममा जान सकिरहेका छैनन् । पसल तथा उद्योगधन्धा, कलकारखानामा काम गर्ने मजदुर प्रभावित छन् । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय जनकपुरका प्रमुख राजीवकुमार झाले बिहीबार यो वर्षकै सबभन्दा चिसो दिन भएको बताए । बिहीबार बिहान साढे ८ बजे जनकपुरको न्यूनतम तापक्रम ८।४ डिग्री मापन भएको छ । ‘यो वर्षकै सबभन्दा न्यूनतम तापक्रम हो,’ उनले भने । बुधबार जनकपुरको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस थियो । गत वर्ष जनकपुरको न्यूनतम तापक्रम ४।४ डिग्री सेल्सियससम्म झरेको थियो । जाडो बढेकाले तापक्रम अझ तल झर्ने अनुमान छ । भिजिबिलिटी कम भएका कारण जनकपुरमा बिहीबार बिहानको हवाई सेवा अवरुद्ध भएको थियो । गत मंगलबार अपराह्नको हवाई सेवा पनि अवरुद्ध भएको थियो ।

रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंहले जाडोले जनजीवन प्रभावित भएकाले चिसोबाट बच्ने उपायबारे पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए । ‘जाडो प्रभावितलाई लक्षित गरी आगो बालेर धुनी लगाउने, कम्बल तथा न्यानो लुगा वितरण गर्ने योजना पनि छ,’ उनले भने, ‘केन्द्रसँग सम्पर्क गरिरहेका छौं ।’

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बिहीबार जिल्लाका १८ वटा स्थानीय तहका प्रमुखसँग शीतलहर पूर्वतयारी तथा प्रतिकार योजनाबारे छलफल गरेका थिए । उनका अनुसार सबै स्थानीय तहमा हुनेले नहुनेलाई कम्तीमा एक थान न्यानो लुगा वितरण गर्ने योजना बनेको बताए । ‘अनियन्त्रित रूपमा धुनी लगाउँदा आगलागीको जोखिमतर्फ समेत सचेत हुनुपर्छ,’ उनले भने, ‘धुनी लगाउनेले नै निभाउनुपर्छ । आगलागी हुने जोखिमप्रति सचेतना पनि जरुरी छ ।’

गत वर्ष धनुषामा आगो ताप्दै गरेका २१ जना डढेर घाइते भएका थिए । धनुषामा समुदाय नागरिकसँगको साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले जनकपुरको रामानन्द चोक, पिडारी चोक, भानु चोक, शिव चोक, मुरली चोक र जिरोमाइललगायतमा विपन्न परिवारका लागि दाउरा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी कँडेल र क्लोथ बैंक जनकपुरका प्रमुख राजीव झाको सक्रियतामा गत मंगलबार राति ३७ वटा कम्बल वितरण गरिएको थियो ।

चिसो बढेयता रौतहटका बजार क्षेत्रमा चहलपहल घटेको छ । भित्री मधेसमा जाडोले धेरै सताएको छ । कुहिरो डम्म लाग्न थालेपछि राजमार्गमा सवारी आवागमन पनि पातलिएको छ । यस्तो बेला सवारी दुर्घटनाको जोखिम बढी हुने ट्राफिकका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए । ‘हामीले चालकलाई हुस्सुले सडक नदेखिने अवस्था भयो भने बढी चनाखो भएर चलाउन भनेका छौं,’ उनले भने, ‘यस्तो बेला सतर्कता बढी आवश्यक छ ।’ ठाउँ–ठाउँमा भेला भएका सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन् । धुनी बालेर आगो ताप्ने क्रम बढेको छ ।

चिसोका कारण बजार पनि ढिलो खुल्न थालेका छन् । व्यापारीहरूले पनि पसल ढिलो खोल्छन्, छिट्टै बन्द गर्छन् । चिसो बढेपछि व्यापार व्यवसाय प्रभावित भएको उद्योग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष सुनीलकुमार जैसवालले बताए । अस्पताल, स्वास्थ्य चौकीमा चिसोका कारण बिरामी भने बढेका छन् । हाडजोर्नी, रुघाखोकी र दमका बिरामीको संख्या बढेको चन्द्रपुर अस्पतालका डा। सुभाष चौधरीले बताए । ‘यस्तो बेला निकै सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘न्यानो कपडा लगाउनुपर्छ । सकभर चिसोमा धेरैबेर हिँड्डुल गर्नुहुन्न ।’

जाडोले बढी प्रभावित हुनेमा मुसहर, डोम र चमारलगायतका दलित बस्ती छन् । गत वर्ष रौतहटमा चिसोले कठ्यांग्रिएर तीन जनाको मृत्यु भएको थियो । पर्सामा घाम नलाग्ने र पश्चिमबाट चल्ने चिसो सिरेटोले जाडो ह्वात्तै बढाएको छ । अत्यावश्यक काम भएकाबाहेक सर्वसाधारण घरबाट निस्किरहेका छैनन् । न्यानो कपडा र तातो पेयको बजार बढेको छ । कपडा पसलमा न्यानो कपडा, सिरक, कम्बल आदि किन्न आउने ग्राहकको भीड देखिन्छ । वीरगन्जमा बिहीबार बिहान साढे ११ बजे तापक्रम ९ डिग्री सेल्सियस थियो ।

आदर्शनगरको ग्रिनसिटी सामुदायिक संस्थाले बिहीबार सडकमा सर्वसाधारणलाई निःशुल्क चिया वितरण गर्‍यो । सात सय बटुवालाई चिया खुवाइएको संस्थाका अध्यक्ष जयप्रकाश खेतानले बताए । बटुवालाई आगो ताप्न नागरिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत हजार किलो दाउराको व्यवस्था गरिएको छ । वीरगन्जका आदर्शनगर, ग्रिनसिटी र एसटीएफ चोकमा आगो बालेर ताप्ने व्यवस्था मिलाइएको उनले बताए । बाक्लो कुहिरोले भिजिबिलिटी नभएर सिमरा विमानस्थलबाट हुने हवाई सेवाको उडान प्रभावित भएको छ ।

महोत्तरीमा मंगलबारदेखि घाम लागेको छैन । चिसो हावासँगै हुस्सु, कुहिरो र बादल लागेको छ । बिहान तुसारो र चिसो सिरेटो छ । चिसो बढेयता चहलपहल घटेर महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास र ढल्केबर बजार क्षेत्र सुनसान जस्तै बनेका छन् । जाडो बढेर व्यापार व्यवसायमा असर परेको बर्दिबासकी व्यापारी अञ्जु लिम्बूले बताइन् । ‘चिसो बढेपछि किनमेलका लागि बजार आउनेहरू घटे,’ उनले भनिन् । कृषि उपजको बिक्री घटेर कुहिने अवस्था आएको बर्दिबासकी किसान गीता सुनुवारले बताइन् ।

तपाईको प्रतिक्रिया