काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेताहरूले भन्दै आउनुभएको राजनीतिक सङ्क्रमण समाप्त भएर आर्थिक समृद्धिको यात्रा सुरु भएको कुरा नेकपा र राजपाको दुईबुँदे सहमतिले पुष्टि गरेको छ ।

देश विखण्डनको नारा दिएर आन्दोलन गरिरहनुभएका सीके राउतलाई मूलधारमा ल्याएर सरकारले ठूलै उपलब्धि हासिल गरेको थियो । यसले गर्दा सरकारको निकै प्रशंसा पनि भएको थियो । संविधान संशोधनको माग राख्दै आन्दोलनको चेतावनी दिँदै आएका पार्टीहरूमध्ये समाजवादी पार्र्टी सरकारमै सहभागी छ । संविधान संशोधनको माग राखे पनि सडक आन्दोलन तथा विरोधका कार्यक्रम गर्न पाएको छैन । संविधान निर्माण भएको दिनलाई मधेसमा कालो दिवसका रूपमा मनाउँदै आएका समाजवादी पार्टी र जनमत पार्टीले सरकारसँग सहमति गरेपछि त्यो दिवस मनाउन छाडेका छन् ।

राजपा नेपालले मात्र संविधान निर्माणको दिनलाई विरोध गर्दै कालो दिवस मनाउँदै आएको थियो । पुस २ गते नेकपासँग दुईबुँदे सहमति गरेपछि राजपा नेपालले पनि विरोधका कार्यक्रम नगर्ने विश्वास गरिएको छ ।

संविधान संशोधनलगायत बन्दी रिहा, मुद्दा फिर्तालगायतका माग राख्दै राजपा नेपाल आन्दोलनमा थियो । राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने सहमतिका साथै आगामी दिनमा दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने पनि सहमति गरिएको छ । यसले यी दुई दललाई झन् नजिक ल्याएको विश्लेषकहरूको दाबी छ ।

राजनीतिक विश्लेषक झलक सुवेदीले पनि नेकपा र राजपा नेपालबीचको सहमतिलाई सकारात्मक रूपमा लिनुभएको छ तर यतिले मात्र विश्वास गर्ने आधार नरहेको उहाँ बताउनुहुन्छ । राजपा नेपाल संविधान संशोधनको मुद्दा लिएर राजनीति गरिरहेको छ । नेकपाले त्यसलाई सम्बोधन गर्न सकेन भने कुनै पनि बेला भड्किन सक्ने उहाँको विश्लेषण छ । यद्यपि यो समीकरण आगामी आमचुनावसम्म कायम रहने उहाँले बताउनुभयो ।
तर अर्का वाम विश्लेषक श्याम श्रेष्ठको धारणा अलि फरक छ । नेकपाले सिद्धान्तहीन कार्य गरेको टिप्पणी गर्दै उहाँले सैद्धान्तिक रूपमा नजिक रहेको समाजवादी पार्टीलाई फाल्ने र राजपा नेपाललाई ल्याउनु नेकपाको बेइमानी नियत रहेको विश्लेषण गर्नुभयो । समाजवादी पार्टीसँग वितगमा गरेको दुईबुँदे सम्झौता कार्यान्वयन गर्न नसकेको नेकपाले समाजवादी पार्टीसँग पनि दुईबुँदे सम्झौता गरेको छ । यसले भविष्यमा राम्रो नगर्ने श्रेष्ठले बताउनुभयो ।

राजपा नेपालका सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएपछि राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि राजपा नेपाल र नेकपाको दूरी झनै बढेको थियो । विगत ११ महिनादेखि नेकपा र राजपा नेपालबीच औपचारिक वार्ता र छलफल बन्द थियो ।

राजपा नेपालका नेताहरूले छलफलका लागि प्रधानमन्त्री ओलीसँग पटक–पटक समय माग गर्नुभएको थियो तर प्रधानमन्त्री ओलीले आफ्नो व्यस्तताका कारण समय दिइरहनुभएको थिएन । भेट नै नपाएको भन्दै राजपाका नेताहरू रिसाइरहेका बेला राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुईबुँदे सहमति सार्वजनिक भएको छ ।

सहमति भएकै दिन आफ्नो फेसबुकमा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले लेख्नुभयो, “आज एउटा ऐतिहासिक काम भर्खर सम्पन्न भएको छ । ” त्यही दिन नेकपा केन्द्रीय सदस्य एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले लेख्नुभयो, “चुनावअघि विमलेन्द्र निधि नेपाललाई ‘एमाले–मुक्त’ बनाउने भाषण गर्नुहुन्थ्यो । नेकपा एकतापछि एमाले त रहेन तर यही तालले राष्ट्रिय सभाचाहिँ ‘काँग्रेसमुक्त’ हुने भयो, त्यो पनि मधेसी दलकै सहयोगमा । अरू कता कता यस्तो हुने हो, कुन्नि । ”

यो सहमतिले नेकपाका नेताहरू निकै उत्साहित देखिएको यी प्रतिक्रियाले पुष्टि हुन्छ । राजपा नेपालका कारण मधेसमा नेकपालाई अलिअलि समस्या थियो । यो सहमतिले त्यो पनि समाप्त भएको छ । त्योभन्दा ठूलो उपलब्धि यो सहमतिले प्रदेश २ बाट राष्ट्रिय सभाका लागि दुई जना सदस्य थपिने भएको छ । यसअघि नेकपाले प्रदेश २ बाट एउटा पनि सिट प्राप्त गरेको थिएन । त्यति बेला राष्ट्रिय सभाका लागि काँग्रेस, राजपा र समाजवादी पार्टीको गठबन्धन थियो । यस पटक नेकपा र राजपा नेपालबीच भएको सहमतिले काँग्रेस र समाजवादी पार्टीले कुनै स्थान जित्ने सम्भावना न्यून छ ।

यो सहमतिले सबभन्दा ठूलो धक्का समाजवादी पार्टीलाई लागेको छ । समाजवादी पार्टीले एक स्थान गुमाउने प्रायः निश्चित छ । यो सहमतिलाई समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले ‘फुटाऊ र राज गर’ नीतिको रूपमा लिनुभएको छ । यद्यपि उहाँले राष्ट्रिय सभाको निर्वाचनमा तालमेल भनेको विशुद्ध कार्यनीतिक र तत्कालीन मुद्दा रहेको टिप्पणी गर्नुभएको छ । यसलाई दीर्घकालीन रणनीतिसँग जोडेर धेरै आशङ्का गर्नु उपयुक्त नहुने उहाँको भनाइ छ ।

सो पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहले पनि नेकपाले समाजवादी पार्टी र राजपालाई पालैपालो प्रयोग गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “यस्तो क्रियाकलापबाट सङ्घीयतावादी शक्तिहरू सतर्क रहनु आवश्यक छ । अाजकाे  गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया