भनिन्छ जीवन संयोगहरूको मेल हो।
मीठा संयोगहरू आइरह्यो भने जीवन सुन्दर लाग्ने रहेछ। ‘हाइक फर नेपाल’ सँगको तेस्रो यात्रासँगै हाइक फर नेपालले सुरूआत गरेको यो १०० औं हाइकमा सहभागी हुन पाउनु खुसीको कुरा हो।
आधुनिकताले जीवन व्यस्त बनाइरहँदा यसरी प्रकृतिसँग रमाउन कसैले उत्साह दिन्छ भने तिनैको संगतमा लागे सुखी र खुसी हुन्छ।
अगष्ट ३। शनिबार।
७ बजेको समय राखिएकोमा करिब ७:३० बजे ८ (आठ) वटा रिजर्भ बससहित हाम्रो टोली अगाडि बढ्यो। १०० औं हाइक भनेपछि सबैलाई उत्साह उस्तै थियो। बस सिंहदरबार हुँदै बानेश्वर अनि भक्तपुरतर्फ अगाडि बढ्यो। ठिमीमा दीपक दाइ चढ्नु भएपछि बस भक्तपुर सूर्यविनायक हुँदै साँगा अनि बनेपा र अन्त्यमा खोपासी पुगेर रोकियो।
त्यसपछि भने हाम्रो हिँड्ने काम सुरू भयो। करिब १० मिनेट जति हिँडेपछि एउटा झोलुङ्गे पुल आयो र झोलुङ्गे पुल तरेसँगै सधैंझैं ब्रिफिङको लागि हामी जम्मा भयौं।
टोली प्रमुख हाइक फर नेपालका अध्यक्ष गणेश शर्माले ब्रिफिङ गर्नुभयो।
हामी जम्मा २२५ जना सहभागी थियौं।
१००औं हाइकलाई अझ पृथक बनाउन सहभागीलाई प्रमाणपत्रको व्यवस्था थियो।
ब्रिफिङपछि अन्त्यमा मनिषले सधैंझैं बाटाका कुरा र १०० औं हाइकमा दिइने सुविधासँगै केही नियम बताए।
सबभन्दा उत्तम नियम ‘प्रकृतीसँग रमाउन आइसकेपछि स्पिकरमा गीत सुन्नुभन्दा बरु चराको आवाजमा रमाउनू’लाग्यो।
अनि फेरि सल्लाघारीको बाटो अगाडि बढ्यौं। तल सुसाइरहेको खोला माथि गर्मी र त्यो गोरेटो बाटो हिँडाइ गज्जब कै थियो। ‘जीवन जिउन कञ्जुस्याइँ गर्न हुन्न’ भन्ने भान चै यस्तै बेला हमेसा पर्ने रहेछ।
सल्लाघारी कटेसँगै अर्को झोलुङ्गे पुल र उकालो बाटो सुरूआत भयो। उकालीको केही बेरको हिँडाइपछि स्थानीयका घर भेटिए। थकाइ मार्ने बहानामा हामीले भलाकुसारी गर्ने मौका पायौं।
सार्वजनिक यातायात खोपासीसम्म मात्र आउने भएकोले पनि त्यहाँ हरेक सुविधाको लागि खोपासी नै पुग्नुपर्ने रहेछ। बाटो आसपास टन्नै हरिया मकै र धान खेती देखिने ठाउँ सुन्दा पनौती अलि नमजा लागे पनि ठाउँ पुग्दा भने रमाइलो रहेछ।
गाउँको आकृतिले बताउँथ्यो कि गाउँलेहरू सहरिया हावाभन्दा बढी गाउँले हरिया हावा रुचाउँछन्। यो मौका हामीले पनि किन छोड्थ्यौं र! गाउँले जीवन क्षणिकलाई भए पनि जिउने कोशिस गर्यौं।
बलथल गाउँदेखि ओराली झर्दै गर्दा डाँडा वारिपारि दुई खोला रोशी र लर्के खोला पर्ने रहेछन्। ती दुई खोला केही तल पुगेपछि दोभानमा मिल्ने रहेछन् र पुन: लर्के खोला नै भएर बग्ने रहेछ।
दुई खोलामध्ये लर्के धमिलो भएर आइरहेको थियो भने रोशी सङ्लो भएर। दोभानमा मिलेर ती दुई पुन: आंशिक सङ्लो भएर बगिरहेका थिए। खोला पनि मान्छे जस्तै त होलान नि। मान्छे हुलमा हिँड्दै गर्दा कोही सङ्लो मन लिएर हिँड्दा हुन् त कोही धमिलो।
ब्रिफिङमा मनिषले भनेका थिए ‘खोलामा नगइदिनुहोला’।
गर्मी अनि त्यो बाटो, यसै पनि रोशी र लर्के खोलाले गिज्याएजस्तो भान भइरह्यो थियो। आफूलाई रोक्न सकेनौं र त्यो चिसो कलकल पानीको स्पर्श गर्यौं। केही राहत मिल्यो।
खोलाको चिसो पानीले अलिकति जाँगर ल्याइदिएको थियो। अब हिँड्नु थियो धारिलो उकालो बाटो।
हामी लम्कियौं।
मकैबारी, उकालो अनि केही घर कटेपछि आयो बलथली इको हिल रिसोर्ट।
हामीलाई त्यहाँ खानाको व्यवस्था गरिएको रहेछ। करिब २-३ घण्टाको बसाइँमा खाना खाने, आराम गर्ने र मनोरञ्जनको लागि नाचगान भयो।
बलथलीमा सुन्दर शान्त अनि मौलिक होमस्टेको व्यवस्था थियो। जहाँ गएर जीवनका सम्पूर्ण तनावलाई बिर्साउन सकिने रहेछ।
वरिपरि हरियली डाँडाकाँडा मनोरम दृश्य भएको ठाउँ मन कसको पो नलोभिएला र ?
खाना खानेसँगै प्रमाणपत्र वितरण काम पनि सकियो।
नाचगान सकेपछि चियाको चुस्की अनि सामूहिक तस्बिर खिचेपछि पुन: अघि आएको बाटोबाट ओराली फर्कन सुरू गर्यौं। यात्राको नरमाइलो पक्ष भनेकै गन्तव्य पुगेपछि फर्किनु हो। अबको हाम्रो यात्रा घर फर्काइको थियो।
खोपासी आइपुग्दा करिब ५:३० जस्तो भैसकेको थियो। उत्साहपूर्ण यात्रालाई मनामा कैद गर्दै यात्रालाई बिट मार्दै थियौं।
तर मनमा भने अरु पनि थुप्रै सुरूआत गर्नुपर्ने देखिएका कुराहरू थिए। नीला सिपाहीहरू अर्थात् हाइक फर नेपालका सहभागी, उहाँहरू सबैको एक एक जनाको देन छ यहाँसम्मको यात्रामा।
सिपाहीहरू भनिसकेपछि उहाँहरू नै हो जसको भरोसामा केही गर्न सकिन्छ। देशको कुनाकाप्चा यती सुन्दर पनि छन् भन्ने सन्देशवाहक उहाँहरू नै हुनुहुन्छ। देश घुम्न लायक मात्र नभएर अर्थपूर्ण पनि छ भन्ने कुराको प्रमाण उहाँहरू नै हुनुहुन्छ।
२०२० पर्यटन वर्षलाई सफल पार्न हाइक फर नेपालले गर्दै गरेको यो कार्य पनि कोसेढुङ्गो सावित जरुर हुन्छ। यसमा दुई मत थिएन नै, यसमा अर्को दुई मत नभएको कुरा थियो हामी सबैको साथ र सहयोग।
कोही केही राम्रो काम गर्दैछ भने त्यसमा साथ र सहयोग गर्न हामी किन पछि हट्ने र ? हाइक फर नेपाललाई आजको जस्तै माया अरु दिनमा पनि मिलिरहोस् कामना!!! १०० औं हाइक जस्ता अरु गरिमामय हाइकको घोषणा गर्ने अवसर मिलोस् ,नीला सिपाहीहरू र हाइक फर नेपालको सम्बन्ध सदैव कायम रहोस्।