बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले कारागार चलान गरेको हो । उनलाई भैरहवास्थित कारागार पुर्याइएको छ । लामिछाने काठमाडौंस्थित आफ्नै निवासबाट शुक्रबार राति पक्राउ परेका थिए ।
यति एअरलाइन्सको विमानमार्फत शनिबार गौतमबुद्ध विमानस्थल पुर्याएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो । सरकारी बिदाका कारण २ दिन उनले प्रहरी हिरासतमा बिताउनु पर्यो ।
अब आफूविरुद्धको मुद्दामा अदालतले फैसला नगरेसम्म लामिछानेले कारागारमै बस्नुपर्ने हुन्छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम अपचलन गरेको कसुरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले जिल्ला अदालतको आदेश उल्टाउँदै उनलाई थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । उच्चको आदेशसँगै जिल्ला अदालतको आदेश बदर भएको छ ।
उच्चले आदेश दिएलगत्तै उनलाई प्रहरीले रातारात पक्राउ गर्यो । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ । धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने व्याख्या उच्च अदालतको छ ।लामिछानेविरुद्ध अरु सहकारीको रकम अपचलनमा पनि मुद्दा दर्ता भएको थियो । विभिन्न अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

तपाईको प्रतिक्रिया