विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको आरती स्ट्रिप्स उद्योगका सिनियर म्यानेजर मृत फेला परेका छन्।
बूढीगंगा गाउँपालिका–१ स्थित उद्योगकै क्वाटरमा बस्दै आएका भारतको गाजियावाद घर भएका अन्दाजी ५५ वर्षीय राजीव शर्मा आइतबार बिहान ११ः१५ बजेतिर सुतेकै अवस्थामा मृत भेटिएका हुन्। अघिल्लो दिन बेलुका खाना खाएर सुतेका शर्मा भोलिपल्ट अबेरसम्म नउठेपछि साथीले कोठामा गएर हेर्दा उनी ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा शर्मा सुतेकै ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत फेला परेको बताइएको छ। प्रारम्भिक रूपमा घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ।
शर्माको मृत्युको कारण भने खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले बताए। उनका अनुसार अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्नेछ।
शर्मा विगत १५–१६ वर्षदेखि आरती स्ट्रिप्स उद्योगमा सिनियर म्यानेजर पदमा कार्यरत थिए। उक्त उद्योगले पाइप तथा कर्कटपातासहित स्टिल र फलामजन्य सामग्री उत्पादन गर्दै आएको छ।
















