विराट मेडिकल कलेजमा नर्सहरूको आन्दोलनः न्यूनतम तलब नपाएको विरोधमा सेवा अवरुद्ध
विराटनगर, मोरङ — विराट मेडिकल कलेज टिचिङ हस्पिटलका नर्सहरू र अन्य स्वास्थ्यकर्मीहरूले सरकारले घोषणा गरेको न्यूनतम तलब नपाएको भन्दै शनिबार बिहानदेखि आन्दोलन सुरु गरेका छन्। तलबमा असमानता र शोषणविरुद्धको आक्रोश झल्किने यो आन्दोलनले अहिले अस्पतालको नियमित सेवा प्रभावित पारेको छ।
आन्दोलनरत नर्सहरूले अस्पताल प्रशासनलाई सरकारको दररेटअनुसारको तलब उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले हातमा प्लेकार्डसहित अस्पताल प्रांगणमा धर्ना दिएका छन् र नारा लगाएका छन् — “न्यायोचित तलब हाम्रो अधिकार हो”, “श्रमको उचित मूल्य देऊ”, “सरकारकै नियम पालन गर।” उनीहरूको भनाइमा, सरकारले स्वास्थ्य क्षेत्रका लागि तोकेको न्यूनतम पारिश्रमिक नपाउँदा उनीहरू मानसिक र आर्थिक रूपमा दुबै थलिएका छन्।
एक आन्दोलनरत नर्सले भनिन्, “हामी १२ घण्टा ड्युटी गर्छौं, बिरामीका सेवा गर्छौं, तर सरकारले तोकेको तलबसमेत पाउँदैनौं। यस्तो अवस्थामा कति समयसम्म सेवा दिने ?” उनीहरूले चेतावनी दिएका छन् कि माग पुरा नभए आन्दोलनलाई थप कडा बनाइनेछ र अस्पतालको सम्पूर्ण सेवा अवरुद्ध गर्नेसम्मका कदम चाल्न बाध्य हुनेछन्।
उता, अस्पताल प्रशासनले भने आफूहरूले नर्स र स्वास्थ्यकर्मीहरूलाई उपलब्ध स्रोत र आम्दानी अनुसार तलब दिइरहेको बताएको छ। अस्पतालका प्रमुख कार्यकारी डेनिस कार्कीका अनुसार, “अस्पतालले आफ्ना स्रोत र साधनअनुसार तलब दिइरहेको छ। सरकारसँग नीति र दररेटका विषयमा स्पष्टता ल्याउन छलफल गर्न तयार छौं।”
तर, आन्दोलनका कारण अस्पतालको नियमित सेवा प्रभावित भएको छ। विशेष गरी नयाँ बिरामी भर्ना प्रक्रिया रोकिएको छ भने आपतकालीन कक्षमा समेत आवश्यक जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ आएको स्रोतले जनाएको छ। बिरामीका आफन्तहरूले उपचारमा ढिलाइ र असहजता बढेको गुनासो गरेका छन्।
स्थानीयवासीहरूले समेत सरकार र अस्पताल दुबै पक्षलाई वार्तामार्फत समस्याको दिगो समाधान गर्न आग्रह गरेका छन्। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्ता विवादले जनताको स्वास्थ्य अधिकारमा प्रत्यक्ष असर पर्ने भन्दै उनीहरूले शीघ्र समाधानको अपेक्षा राखेका छन्।
यसअघि पनि देशका विभिन्न निजी मेडिकल कलेज र अस्पतालका नर्सहरूले न्यूनतम तलब नपाएको विरोध गर्दै आन्दोलन गरेका थिए। तर, ठोस समाधान नआएकै कारण समस्या दोहोरिइरहेको नर्सहरूले बताएका छन्। विराट मेडिकलको आन्दोलनले फेरि एकपटक देशभरका नर्सहरूको पीडा र श्रमशोषणको सवाललाई सार्वजनिक एजेन्डामा ल्याइदिएको छ।
















