विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सामग्री तथा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट दंगा नियन्त्रणका उपकरणसहित आवश्यक सवारी साधनहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउने ६५० सवारी साधनमध्ये २५० वटा यसपटक हस्तान्तरण गरिएको र बाँकी सवारी आगामी साताभित्रै उपलब्ध गराइने जानकारी कार्यक्रममा सहभागी भारतीय पक्षले दिएको थियो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि बजेटीय सीमितता रहेको अवस्थामा प्राप्त यो सहयोगले निर्वाचन प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
उनले नेपाल कठिन परिस्थितिमा पर्दा भारतले समयमै सहयोग गर्दै आएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछिको उद्धार तथा राहत प्रयासमा देखाएको सक्रियतालाई स्मरण गरे ।
जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधन क्षति भएको सन्दर्भ उल्लेख गर्दै नयाँ सवारी साधन प्राप्त भएपछि सुरक्षा निकायको कार्यसम्पादन क्षमता थप सुदृढ हुने विश्वास पनि अर्थमन्त्रीले व्यक्त गरे ।
निर्वाचनलाई लक्षित गरी अनुदानमा प्राप्त यी सवारी साधन नेपाल सरकारले स्वीकार गरेको अर्थमन्त्री खनालले स्पष्ट पारे ।
















