विराटनगर / प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नं. ६ मा चुनावी बहस आर्थिक मुद्दामुखी बन्दै गएको छ। रोजगारी विस्तार, लगानी प्रवर्द्धन, औद्योगिक वातावरण सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा युवा समूहहरू संगठित रूपमा सक्रिय भएका छन्।
विराटनगर तथा बुढीगंगा आसपासका क्षेत्रमा युवाहरूले घरदैलो, अन्तरक्रिया र क्षेत्रगत छलफलमार्फत आर्थिक रूपान्तरणको एजेन्डा अघि सारेका छन्। स्थानीय उद्योग संरक्षण, साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन, पूर्वाधार विस्तार तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि जस्ता विषयलाई उनीहरूले प्रमुख चुनावी मुद्दाका रूपमा प्रस्तुत गरेका छन्।
स्थानीय युवा अभियन्ता सञ्जीव चापागाईंका अनुसार क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउन उद्योगमैत्री नीति, निजी क्षेत्रसँग सहकार्य र उत्पादन–बजार सञ्जाल सुदृढीकरण अपरिहार्य छ। “स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बजारसँग जोड्दै दिगो रोजगारी सिर्जना गर्ने स्पष्ट आर्थिक दृष्टिकोण अहिलेको आवश्यकता हो,” उनले बताए।
‘आर्थिक रूपान्तरणका लागि स्थिर र अनुभवी नेतृत्व’ नारासहित अघि बढाइएको अभियानमा विभिन्न पेशागत पृष्ठभूमिका युवाहरूको सहभागिता रहेको छ। उनीहरूले मतदातामाझ डा. कोइरालाको नीति निर्माण अनुभव, संसदीय अभ्यास र संघीय तहमा प्रभावकारी समन्वय क्षमताको विषयलाई मुख्य सन्देश बनाएका छन्।
स्थानीय युवा सरोज श्रेष्ठले सुशासन र युवाको पक्षमा निरन्तर आवाज उठाउँदै आएका डा. शेखर कोइरालालाई जिताउन आफूहरू प्रतिबद्ध रहेको बताए। “शेखर कोइरालाको जितले विराटनगर मात्र होइन, कोशी प्रदेशकै प्रतिष्ठा बढ्ने विश्वास हामीले लिएका छौं,” उनले भने।
बुढीगंगा क्षेत्रमा पछिल्ला वर्षहरूमा सडक, खानेपानी तथा सामाजिक पूर्वाधार विस्तार भए पनि ती योजनालाई दीर्घकालीन औद्योगिक र आर्थिक दृष्टिकोणसँग जोड्न आवश्यक रहेको युवाहरूको धारणा छ। संघीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने प्रतिनिधिको आवश्यकता उनीहरूले औंल्याएका छन्।
नेपाली कांग्रेस निकट तरुण दलले वडा–स्तरमा युवा, महिला र ज्येष्ठ नागरिक परिचालन समिति गठन गरी प्रचार अभियानलाई संरचित बनाएको जनाएको छ। अभियानलाई केवल राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठाएर लगानीमैत्री वातावरण निर्माण र आर्थिक पुनरुत्थानसँग जोडिएको दाबी गरिएको छ।
यसपटक मोरङ–६ मा चुनावी प्रतिस्पर्धा परम्परागत राजनीतिक विमर्शभन्दा फरक आर्थिक सम्भावना, उद्यमशीलता विकास र सुशासनको कार्यान्वयन क्षमतामा केन्द्रित देखिएको छ। उद्योग, सेवा र कृषि क्षेत्रको समन्वित विकासमार्फत क्षेत्रीय अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिबद्धता नै चुनावी बहसको मूल आधार बनेको छ।
















