दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दमकमा निर्मित टावरको विरोध गर्नेहरूले यसको महत्व नबुझेको बताएका छन्। झापा क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा सोमबार उनले उक्त टावर भ्यूटावर मात्र नभएर एक विशाल बिजनेस कम्प्लेक्स भएको स्पष्ट पारे।
झापा–५ का उम्मेदवार समेत रहेका ओलीले यस संरचनालाई नयाँ प्रविधिको ‘आईटी हब’ का रूपमा विकास गर्ने सोचका साथ अगाडि बढाइएको जानकारी दिए। यो कुनै व्यक्तिगत बसोबासका लागि नभई समग्र क्षेत्रको विकासका लागि निर्माण गरिएको उनको भनाइ छ। नबुझ्ने मान्छेहरूले मात्र यसको विरोध गरिरहेको भन्दै उनले यो टावर दमकको विकासको एउटा बलियो पहिचान र झन्डा भएको दाबी गरे।भविष्यमा दमक सहर यही टावरका कारण विश्वभर चिनिने विश्वास उनले व्यक्त गरे। विकासको यो नमुनाले यस क्षेत्रको आर्थिक र प्राविधिक अवस्थामा ठुलो सुधार ल्याउने उनको जिकिर छ।

तपाईको प्रतिक्रिया