झापा : झापामा किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदानको रासायनिक मल बिक्री–वितरणमा गम्भीर अनियमितता देखिएको छ।
अनुमति नै नलिएका पसलबाट मल बिक्री भइरहेको भेटिएपछि कृषि ज्ञान केन्द्र झापाले अनुगमन तीव्र बनाएको हो ।
मङ्गलवार जिल्लाका विभिन्न स्थानमा गरिएको संयुक्त अनुगमनका क्रममा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ राजगढमा रहेको दुलाल कृषि भण्डारले बिना स्वीकृति अनुदानको मल बिक्री गरिरहेको फेला परेको छ ।अनुगमन टोलीले उक्त पसलबाट चार बोरा मल बरामद गरी नियन्त्रणमा लिएको छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार सो पसलले मल कहाँबाट ल्यायो, कसरी प्राप्त ग¥यो र कति समयदेखि बिक्री गरिरहेको थियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। “अनुदानको मल वितरणका लागि निर्धारित प्रक्रिया हुन्छ, तर त्यसलाई उल्लङ्घन गरिएको देखियो,” उनले भने।
अनुगमनका क्रममा निजी फर्महरूले बिलबिना मल बिक्री गरिरहेको तथ्य पनि खुलेको छ। सरकारी मापदण्डअनुसार बिक्री अभिलेख राख्नुपर्ने, खरिदकर्तालाई बिल दिनुपर्ने तथा मूल्य सूची सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि धेरै स्थानमा त्यसको पालना नभएको पाइएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले सहकारी संस्थाभन्दा निजी फर्ममार्फत भइरहेको बिक्रीमा बढी समस्या देखिएको बताए। उनका अनुसार कतिपय स्थानमा मूल्य, भण्डारण र वितरण प्रणालीमा समेत कमजोरी भेटिएको छ।
जिल्लाभर मल अभावको गुनासो बढिरहेका बेला गरिएको अनुगमनमा ११ वटा मल खाद डिपो, सहकारी संस्था र एग्रोभेट जाँच गरिएको थियो। बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ता बजारमा रहेको सोमा एग्रो ट्रेडर्स र प्रेमकृष्ण भण्डार, भद्रपुरका सदाबहार एग्रोभेट्स र परिचित कृषि भण्डार, बाह्रदशीका लुम्बिनी बहुउद्देश्यीय सहकारी संस्था, सजिवन कृषि सहकारी संस्था, खादमल तथा कृषिजन्य बीउ विजन फर्म, हल्दिवारीका धौलागिरि पारिजात बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो गोलधाप कृषि सहकारी संस्था तथा परिणति सीड्स सप्लायर्समा अनुगमन टोली पुगेको थियो।
अनुगमन टोलीमा कृषि ज्ञान केन्द्रको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल प्रहरीका प्रतिनिधिको सहभागिता रहेको थियो।
किसानले समयमै मल नपाउने, पाउँदा पनि महँगो वा अनियमित रूपमा वितरण हुने गुनासो बढिरहेका बेला अनुदानको मलमा देखिएको यस्तो बेथितिले कृषि क्षेत्र थप प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ। सम्बन्धित निकायले अब नियम विपरीत कारोबार गर्ने पसलमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

















