विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ। वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालय पछिल्ला वर्षहरूमा उत्कृष्ट शैक्षिक नतिजा, अनुशासित वातावरण र प्रयोगात्मक शिक्षण पद्धतिका कारण विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्दै गएको हो।

वि.सं. २०५८ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको अरनिको कलेज विशेषगरी विज्ञान संकायमा उल्लेखनीय नतिजा निकाल्दै आएको छ। विद्यालय व्यवस्थापनका अनुसार एमबीबीएस, इन्जिनियरिङ तथा अन्य प्राविधिक विधामा पूर्ण छात्रवृत्तितर्फ नाम निकाल्ने विद्यार्थीको संख्या प्रत्येक वर्ष औसतभन्दा उच्च रहँदै आएको छ। पछिल्ला वर्षहरूमा मात्रै अरनिकोका दर्जनौं विद्यार्थीले सरकारी तथा प्रतिष्ठित शिक्षण संस्थामा पूर्ण छात्रवृत्तिसहित अध्ययनको अवसर प्राप्त गरेका छन्।

विद्यालयले गुणस्तरीय शिक्षाका कारण उच्च अध्ययनका लागि काठमाडौं वा विदेश जाने विद्यार्थीको संख्या घटाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ। यसले प्रदेशबाट बाहिरिने ठूलो आर्थिक स्रोत रोक्नसमेत सहयोग पुगेको विद्यालय प्रशासनको भनाइ छ।

अरनिकोबाट अध्ययन पूरा गरेका हजारौं विद्यार्थी अहिले देश तथा विदेशमा डाक्टर, इन्जिनियर, प्राध्यापक, प्रशासक र विभिन्न पेशागत क्षेत्रमा आबद्ध छन्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, नियमित मूल्यांकन प्रणाली तथा व्यवहारिक सिकाइका कारण विद्यालयप्रति विश्वास बढ्दै गएको अभिभावकहरू बताउँछन्।

विद्यालयका प्रिन्सिपल राजेश कार्कीले अरनिकोले केवल परीक्षा केन्द्रित शिक्षा नभई प्रतिस्पर्धी र जिम्मेवार नागरिक उत्पादनमा जोड दिँदै आएको बताए।

उनले भने, “अरनिकोले विद्यार्थीलाई केवल राम्रो अंक ल्याउने होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने लक्ष्यका साथ शिक्षण गर्दै आएको छ। एमबीबीएस र इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्तिमा विद्यार्थी सफल हुनु हाम्रो शैक्षिक गुणस्तरको प्रमाण हो।”

यसैबीच, विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना प्रक्रिया सुरु गरेको जनाएको छ। विज्ञान विषय अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि जेठ २ गते शनिबार प्रवेश परीक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ। व्यवस्थापनका अनुसार सीमित सिट भएकाले योग्य तथा प्रतिस्पर्धी विद्यार्थीलाई प्राथमिकतामा राखेर भर्ना प्रक्रिया अघि बढाइनेछ।

कोशी प्रदेशमा गुणस्तरीय विज्ञान शिक्षा खोजिरहेका विद्यार्थीका लागि अरनिको अहिले ‘विश्वासिलो ब्रान्ड’का रूपमा स्थापित हुँदै गएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन्।

तपाईको प्रतिक्रिया