विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्दा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय श्रेष्ठलाई Martyrs Memorial Foundation ले कलेजको नेतृत्व जिम्मेवारी प्रदान गरेको हो। आज आयोजित विशेष समारोहबीच उनलाई औपचारिक रूपमा पदस्थापन गरिएको छ।

विराटनगर–१०, निलसदन दक्षिणमा अत्याधुनिक भौतिक पूर्वाधारसहित सञ्चालनमा आउन लागेको कलेजले नयाँ शैक्षिक सत्रदेखि औपचारिक रूपमा अध्ययन–अध्यापन सुरु गर्ने तयारी गरेको छ। करिब ७ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको कलेज साढे ५ कट्ठा क्षेत्रफलमा फैलिएको चारतले आधुनिक भवनमा सञ्चालन हुनेछ। पूर्ण रूपमा एसी भवनमा स्मार्ट कक्षाकोठा, आधुनिक प्रयोगशाला तथा प्रविधिमैत्री सिकाइ वातावरणको व्यवस्था गरिएको छ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल श्रेष्ठले गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका लागि दक्ष, सक्षम र जिम्मेवार जनशक्ति उत्पादन गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताए। उनले विद्यार्थीलाई भयरहित, अनुशासित र प्रविधिमैत्री वातावरणमा उत्कृष्ट शिक्षा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे।

श्रेष्ठले कलेजले अन्य कलेजहरूले जस्तो अतिरिक्त प्रवेश परीक्षा (इन्ट्रान्स) नलिने घोषणा गर्दै विद्यार्थीको एसईई नतिजालाई नै क्षमताको आधार मानिने बताए। “विद्यार्थीमाथि अनावश्यक परीक्षा बोझ थप्नु उपयुक्त हुँदैन,” उनले भने, “हामी एसईईको नतिजाका आधारमै भर्ना प्रक्रिया अघि बढाउनेछौँ।”

कलेजको विज्ञान संकाय संयोजकमा किरण दास नियुक्त भएका छन् भने सञ्चालक समितिको अध्यक्षमा प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोल रहेका छन्। ३१ जना प्रतिष्ठित व्यक्तित्व आबद्ध रहेको सञ्चालक समूहले मार्टर्स मेमोरियल कलेजलाई विराटनगरकै नमुना शैक्षिक संस्था बनाउने लक्ष्य लिएको जनाएको छ।

सञ्चालक समितिले गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामार्फत विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया