काठमाडौँ : वैदेशिक रोजगारीका नाममा करिब ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आले मगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुन मगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११ का प्रवीण श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार अभियुक्तहरूले विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट ठूलो रकम ठगी गरेका थिए ।

रामबहादुर आले मगरले क्यानडा पठाउने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार रुपैयाँ ठगी गरेको आरोप छ । त्यसैगरी आशिष कार्कीले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै तीन जनाबाट १३ लाख रुपैयाँ असुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै लोकबहादुर श्रेष्ठले बेलायतमा राम्रो कमाइ हुने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ लिएको, तुलसा पुन मगरले अमेरिका पठाउने बहानामा एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

यसैगरी कृष्णप्रसाद पोखरेलले दुबई पठाइदिन्छु भन्दै एक जनाबाट १० लाख रुपैयाँ र प्रवीण श्रेष्ठले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया