विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले प्रदेशमा निर्माण भइरहेका तथा सम्पन्न भइसकेका पूर्वाधार आयोजनाको अवस्था, गुणस्तर र जनउपयोगिताबारे स्थानीयवासीसँग सुझाव तथा जानकारी मागेका छन्।
प्रदेशको भौतिक पूर्वाधार विकासलाई थप प्रभावकारी, परिणाममुखी र जनअपेक्षाअनुसार अघि बढाउने उद्देश्यले रणनीतिक योजना निर्माणको क्रममा स्थानीयस्तरबाट प्रत्यक्ष सूचना तथा सुझाव संकलन गर्न लागिएको मन्त्री आचार्यले बताएका छन्।
मन्त्री आचार्यले सडक, पुल, भवनलगायतका पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या, कामको गति, निर्माणको गुणस्तर तथा आयोजनाबाट नागरिकले प्राप्त गरिरहेको सेवाबारे जानकारी उपलब्ध गराउन आग्रह गरेका छन्।
निर्माण सम्पन्न भइसकेका सडक बिग्रिएको, भत्किएको, खाल्डाखुल्डी परेको वा अन्य समस्या देखिएको भए त्यसको फोटो तथा भिडियोसहित जानकारी पठाउन सकिने जनाइएको छ। सम्भव भएसम्म सम्बन्धित सडक दैनिक कति मानिस तथा सवारीसाधनले प्रयोग गर्छन् भन्ने अनुमानसमेत उपलब्ध गराउन आग्रह गरिएको छ।
त्यस्तै, लामो समयदेखि रोकिएका, पटक–पटक म्याद थपिएका वा अपेक्षित गतिमा अघि नबढेका आयोजनाको विवरणसमेत पठाउन आग्रह गरिएको छ। स्थानीय क्षेत्रमा तत्काल आवश्यक रहेका पूर्वाधार, त्यसको स्थान, आवश्यकता र निर्माणपछि लाभान्वित हुने नागरिकको संख्याबारे पनि सुझाव दिन सकिनेछ।
प्रदेश सरकारले कति लागतसम्मका योजना प्राथमिकताका साथ अघि बढाउनु उपयुक्त हुन्छ भन्ने विषयमा समेत नागरिकको राय मागिएको छ। निर्माणका क्रममा गुणस्तरमा समस्या, मापदण्डविपरीत काम, लापरबाही वा अन्य अनियमितता देखिए त्यससम्बन्धी प्रमाण, फोटो, भिडियो तथा अन्य विवरणसहित जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ।
मन्त्री आचार्यले समस्या र कमजोरीका विषयमा मात्र नभई तोकिएको मापदण्डअनुसार गुणस्तरीय, प्रभावकारी र उदाहरणीय रूपमा सम्पन्न भइरहेका आयोजनाको जानकारीसमेत उपलब्ध गराउन आग्रह गरेका छन्। राम्रो कामको पहिचान र प्रोत्साहनबाट पूर्वाधार निर्माणमा थप सुधार ल्याउन सकिने उनको भनाइ छ।
स्थानीयवासीबाट प्राप्त सुझाव तथा सूचनालाई पूर्वाधार आयोजनाको अनुगमन, अध्ययन तथा आगामी योजना निर्माणका क्रममा उपयोग गरिने जनाइएको छ।
आफ्नो क्षेत्रसँग सम्बन्धित सुझाव तथा जानकारी jivanacharyapsdkoshi@gmail.com मा पठाउन सकिनेछ। थप जानकारीका लागि ९८५२०८९१६५ मा सम्पर्क गर्न सकिनेछ।























