भोटेकोशीमा आएको बाढीको प्रभावले त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटमा ठूलो क्षति पुर्यायो। बाढीको उर्लंदो भेलमा लक्ष्मी पाण्डेसहित ६–७ जनाको परिवार यही घरभित्र फसेको थियो।
घर वरिपरिका अधिकांश संरचना बाढीले बगायो, कतिपय ठाउँमा घर तथा भौतिक संरचना पुरिए। चारैतिर पानीको ताण्डव मच्चिरहेका बेला परिवारका सदस्यहरू भने यही घरभित्र जीवन जोगाउने संघर्षमा थिए।
बाढीको भीषण बहावका बीच पनि यो घर नढल्दा लक्ष्मी पाण्डेसहित उनको परिवारले ज्यान जोगाउन सफल भयो। केही समयपछि स्थानीय युवाहरू जोखिम मोलेर त्यहाँ पुगे र परिवारका सबै सदस्यलाई उद्धार गरे।
त्यो भयावह क्षण सम्झिँदै लक्ष्मी पाण्डे भन्छिन्, “हामी त्यहीँ थियौँ। कसरी नयाँ जीवन पायौँ, अहिले सम्झिँदा झन् कहाली लाग्छ।” उनी आफूहरूलाई जोगाउने घरप्रति मात्र होइन, संकटको समयमा उद्धारमा खटिएका छिमेकी तथा युवाहरूप्रति पनि आभारी छिन्।
“भगवान्, नयाँ जीवन दिनुभएकोमा धन्यवाद। हामीलाई बचाउन सहयोग गर्ने छिमेकी दाइ–भाइहरूलाई मनदेखि धेरै–धेरै धन्यवाद। यो गुन सायद कहिल्यै तिर्न सक्दैनौँ होला,” उनले भनेकी छन्। बाढीले वरिपरि विनाश मच्चाउँदा यही घर भने एक परिवारका लागि जीवन र मृत्युबीचको अन्तिम सहारा बन्यो।























