बाढी, पहिरो र डुबानजस्ता विपद्ले क्षणभरमै ठूलो जनधनको क्षति पुर्‍याउन सक्छ। यतिबेला भोटेकोशीमा आएको बाढीपछि देखिएको भयावह अवस्था पनि यही सत्यको दुःखद उदाहरण हो। सयौँ नागरिकको ज्यान गएको र हजारौँ अझै सम्पर्कविहीन रहेकोले सिंगो देशलाई स्तब्ध बनाएको छ।

यस्तो दुःखद घडीमा सबैभन्दा पहिलो प्राथमिकता मानवीय जीवनको रक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकको उद्धार र राहत हुनुपर्छ। राज्यका सुरक्षा निकाय, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार आफ्नो क्षमताअनुसार उद्धार तथा राहतमा जुटिरहेका छन्। तर विपद्को आकार ठूलो हुँदा सरकारको मात्र प्रयास पर्याप्त हुँदैन। यस्तो अवस्थामा नागरिक समाज, निजी क्षेत्र, सामाजिक संघसंस्था, सञ्चारमाध्यम र आम नागरिक सबैको सहयोग आवश्यक हुन्छ।

सरकारले पनि उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउनुपर्छ। बेपत्ताको खोजीलाई तीव्रता दिँदै प्रभावित परिवारलाई सही सूचना उपलब्ध गराउने, राहत सामग्री वास्तविक पीडितसम्म पुर्‍याउने र विस्थापित नागरिकको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ।

विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्रिय एकता र सहकार्य प्रदर्शन गर्नुपर्छ। सरकारका कमजोरी भए त्यसको समीक्षा र आलोचना गर्ने समय अवश्य आउँछ। तर अहिले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवकको मनोबल बढाउने र पीडितलाई आवश्यक सहयोग जुटाउने समय हो।

सञ्चारमाध्यमको भूमिका पनि यतिबेला अत्यन्त महत्वपूर्ण हुन्छ। सही र आधिकारिक सूचना प्रवाह गर्नु, अफवाह तथा भ्रामक समाचार फैलिन नदिनु र पीडितको संवेदनशीलतालाई सम्मान गर्नु सञ्चार क्षेत्रको दायित्व हो।

विपद् कसैको व्यक्तिगत वा राजनीतिक विषय होइन, यो साझा राष्ट्रिय संकट हो। त्यसैले सरकारलाई आवश्यक सहयोग गरौँ, उद्धार तथा राहत अभियानमा हातेमालो गरौँ र विपद्मा परेका नागरिकलाई एक्लो महसुस हुन नदिऔँ।

आजको आवश्यकता दोष खोज्नेभन्दा जीवन बचाउने हो। राज्य र नागरिकबीचको सहकार्यबाट मात्रै यस्तो ठूलो संकटको सामना गर्न सकिन्छ। त्यसैले सम्पूर्ण नेपालीमा हाम्रो आग्रह छ—विपद्को घडीमा सरकारलाई सबैले सहयोग गरौँ, पीडितलाई सक्दो साथ दिऔँ ।

तपाईको प्रतिक्रिया