मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढीगंगा गाउँपालिकाको सभापति पदका लागि दिलीपकुमार चौधरीले उम्मेदवारी घोषणा गरेका छन्।

बुढीगंगा गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यसमेत रहेका चौधरीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेहेन्दार, सक्रिय तथा संगठनप्रति प्रतिबद्ध नेताका रूपमा परिचित चौधरीले उम्मेदवारीसँगै संगठन सुदृढीकरण, स्थानीय विकास तथा समृद्धि, पारदर्शिता र जवाफदेहितामूलक नेतृत्व, युवा तथा महिला सशक्तीकरण तथा समाजसेवा र जनहितलाई प्राथमिकतामा राख्ने बताएका छन्।

उनले कांग्रेसको संगठनलाई थप बलियो र प्रभावकारी बनाउन सबै तहका कार्यकर्ताको सहभागिता र सहकार्यलाई प्राथमिकता दिने बताएका छन्। साथै बुढीगंगाको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासका क्षेत्रमा विशेष जोड दिने प्रतिबद्धता जनाएका छन्।

चौधरीले पार्टीभित्र आपसी एकता र सहकार्यलाई मजबुत बनाउँदै कार्यकर्ताको भावना र सुझावलाई समेटेर अघि बढ्ने बताएका छन्। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा समेत उपयोग गर्ने उनको भनाइ छ।

उम्मेदवारी घोषणा गर्दै चौधरीले बुढीगंगा गाउँपालिकाका सबै वडाका क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत प्रदान गरी आफूलाई विजयी गराउन अनुरोध गरेका छन्। उनले सबैको साथ, सहयोग र सहकार्यबाट कांग्रेस संगठनलाई थप मजबुत बनाउन सकिने बताएका छन्।

“हामी सबैको साथ, अवश्य जितौँ” भन्ने नारासहित चौधरीले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

तपाईको प्रतिक्रिया