मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढीगंगा गाउँपालिका सभापति पदका लागि वडा नं. १ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिका सदस्य सोमराज काफ्लेले उम्मेदवारी प्रस्तुत गरेका छन्।
सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै काफ्लेले बुढीगंगाका वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग र समर्थनका लागि आग्रह गरेका छन्। उनले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन अपिल गर्दै पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काफ्लेले पार्टीभित्र रहेका सबै कार्यकर्ताको भावना र योगदानलाई सम्मान गर्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्।
“तपाईंको एक मत, संगठन सुदृढीकरणको बलियो आधार” भन्दै उनले पार्टीको आन्तरिक संगठनलाई मजबुत बनाउन सबै प्रतिनिधिको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।
बुढीगंगा गाउँपालिकाको वडा नं. १ बाट निर्वाचित काफ्ले हाल स्थानीय तहमा वडा अध्यक्षमा कार्यरत हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको समयमा बुढीगंगामा गाउँपालिका सभापति पदका लागि काफ्लेको उम्मेदवारीले स्थानीय पार्टी राजनीतिमा नयाँ प्रतिस्पर्धा थपिएको छ।























