मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुढीगंगा गाउँपालिका कार्यसमितिको सभापति पदमा दिलीपकुमार चौधरी विजयी भएका छन्। गाउँपालिका कार्यसमितिका अन्य पदमा पनि नयाँ नेतृत्व चयन भएको छ।
बुढीगंगा गाउँपालिका–६ का वडाध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यसमेत रहेका चौधरी सभापति पदमा विजयी भएका हुन्। उनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, गाउँपालिका कार्यसमितिको उपसभापतिमा पुरुषतर्फ किरणकुमार चौधरी र महिलातर्फ सावित्रा पराजुली धमला विजयी भएका छन्। सचिवमा खेमराज भट्टराई तथा सहसचिवमा नुर महमद विजयी भएका छन्।
नवनिर्वाचित सभापति चौधरीले पार्टीभित्र आपसी एकता, सहकार्य र सद्भावलाई मजबुत बनाउँदै कार्यकर्ताको भावना तथा सुझावलाई समेटेर अघि बढ्ने बताएका छन्। उनले संगठन सुदृढीकरण, पारदर्शिता, जवाफदेहिता, युवा तथा महिला सशक्तीकरण र जनहितका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
चौधरीले बुढीगंगा गाउँपालिकाको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासका क्षेत्रमा विशेष जोड दिने बताएका छन्। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा हासिल गरेको अनुभवलाई पार्टी संगठन बलियो बनाउन उपयोग गर्ने उनको भनाइ छ।
नवनिर्वाचित नेतृत्वले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई समेट्दै संगठनलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।
चौधरीले निर्वाचनमा सहयोग गर्ने वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण कार्यकर्तालाई धन्यवाद दिँदै आगामी दिनमा सबैको साथ र सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।























