झापा : झापा गाउँपालिकाले गाउँपालिकावासीलाई शोकको समयमा शव घाटसम्म लैजान सहज होस् भन्ने उद्देश्यले शववाहन खरिद गरेको छ।
मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव घाटसम्म पुर्‍याउन यातायातको समस्या भोग्दै आएका स्थानीयलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले शववाहन खरिद गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार शववाहन खरिद प्रक्रिया पूरा भइसकेको छ। आवश्यक पूर्वतयारी र व्यवस्थापनका काम पूरा गरेपछि शववाहन सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइनेछ।
गाउँपालिकाले २७ लाख २५ हजार रुपैयाँमा शववाहन खरिद गरेको निरौलाले बताए। उनका अनुसार शववाहन खरिदका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। शववाहन सञ्चालनमा आएपछि विपद् तथा शोकको समयमा गाउँपालिका वासीलाई मृतकको शव घाटसम्म लैजान सहज हुने गाउँपालिकाको अपेक्षा छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई शव व्यवस्थापनमा हुने यातायातको समस्या कम गर्न सेवा उपयोगी हुने जनाइएको छ।
‘नागरिकको सुख–दुःखको साथमा झापा गाउँपालिका’ भन्ने उद्देश्यअनुसार स्थानीयको आवश्यकताका आधारमा सेवा विस्तार गर्ने क्रममा शववाहन सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।शववाहन सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि तथा व्यवस्थापनको काम पूरा गरी छिट्टै सेवा सुरु गर्ने तयारी गाउँपालिकाको छ।

तपाईको प्रतिक्रिया