काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले ‘लक डाउन’को पूर्वअभ्यास गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले स्कूल, कलेज, सिनेमा हल बन्द गर्नेदेखि लिएर उडानमार्फत हुने आगमनमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सँगै बिहीबार देखि सुरु हुन लागेको माद्यामिक शिक्षा परीक्षासमेत स्थगीत भएको छ। एसईई स्थगित भएसँगै चार लाख ८२ हजार परीक्षार्थी प्रभावित भएका छन्। एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो। चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो। एसईई परीक्षाका लागि देशभर १९९५ केन्द्र तोकिएको थियो।

नेपाल प्रवेशमा प्रतिबन्ध

सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि युरोपेली, पश्चिम एसियाली, खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएपछि सरकारले त्यसको रोकथामका लागि विभिन्न निर्णय लिएको हो। सरकारले कोरोना भाइरसको संक्रमण फैलिएका सबै मुलुकका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ।

कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले शुक्रबार (मार्च २०) देखि वैशाख ३ (अप्रिल १५) सम्म संक्रमण फैलिएका मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको हो। सरकारले प्रतिबन्ध लगाए बाहेकका विदेशी नागरिकले नेपाल प्रवेश गर्न खोजे उनीहरुले एक साता अघिको स्वास्थ्य प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनु पर्ने छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइसरको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको छ। युरोपेली मुलुकमा सबैभन्दा बढी इटालीले कोरोना भाइरसको संक्रमण भोगिरहेको छ। विश्व स्वास्थ्य संगठनले विश्वका जुनसुकै मुलुकममा जतिबेला पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेको छ।

२५ भन्दा बढी भेला हुन नपाइने

सरकारले कोरोना फैलिन नदिन अत्यावश्यक कामका बाहेक आवतजावत गर्न रोक लगाएको छ। बुधबार बसेको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको अत्यावश्यक हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको हो।

बैठकको निर्णय अनुसार अब सार्वजनिकस्थलमा २५ जना भन्दा बढी मानिस भेला नपाइने भएको छ। ‘सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिकस्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन बन्द हुनेछ’ विज्ञप्तिमा भनिएको छ। उक्त अनुगमन गृहमन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने बताइएको छ।

विद्यालय र कलेज चैत मसान्तसम्म बन्द

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो। बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्नेलगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो। समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्‍त्री युवराज खतिवडासँगै उच्च सरकारी अधिकारीको उपस्थिति थियो।

सार्वजनिक सवारीमा सिट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न अनुरोध गर्दै यसको अनुगमनको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ। यातायातका साधन चलाउनुअघि प्रत्यके दिन दिन समय–समयमा सवारीसाधनलाई किटाणु निर्मलीकरण गर्न लगाउने सरकारको निर्णयमा उल्लेख छ। यसको अनुगमन यातायात व्यवस्था विभाग र प्रहरीले गर्नेछ। उपभोक्तालाई आवश्यकता भन्दा बढी सामग्री खरिद र अनावश्यक सञ्चय नगर्न अनुरोधसमेत सरकारले गरेको छ। होटल, रेष्टुरेन्ट तथा सपिङ महलका सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजरलगायत सामग्रीको प्रबन्ध गर्न निर्देशन गर्दै सरकारले टेबल, कुर्सी, बार–रेलिङ र शौचालयलाई सफा गर्न आग्रहसमेत गरेको छ।

सँगै सरकारले बरामद भएका माक पाँच लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बाँकी साझा स्वास्थ्य वा सहकारी संस्था लिमिटेडमार्फत् विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरेको छ।

सरकारले सञ्चार माध्यम र सामाजिक सञ्जालबाट गलत अभिव्यक्ति दिएमा कानुन बमोजिम कारबाही गर्ने निर्णयसमेत गरेको हो। आजसम्म कोरोना भाइरसको संक्रमण नभएको भनिएको नेपालमा सरकारले ‘लक डाउन’ कै संकेत हुनेगरी निर्णय लिएको हो। यसले आम सर्वसाधारणमा अझ त्रास बढेको छ। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया