काठमाडौँ — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।

कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो। इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको लेखिएको छ।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतिजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले  बताए।

पटनामा गरिएको परीक्षणमा रुगंटालाई कोरोना भाइरसको संक्रमण भएको नदेखिए पनि पटना मेडिकल कलेजले दोस्रो पटक परीक्षणका लागि पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा नमुना पठाएको छ । पुणेको रिपोर्ट भने आइसकेको छैन ।

तपाईको प्रतिक्रिया