घर फर्किने आशामा भारतको कोरोना प्रभावित विभिन्न सहरबाट आएर बेलहिया नाकामा रोकिएका नेपाली दशगजामा धर्नामा बसेका छन् । घर जान पाउनुपर्ने भन्दै उनीहरु नेपाल भारतको दशगजामा धर्नामा बसेका हुन्।

सरकारले नेपाली नागरिक जहाँ छन् त्यही सुरक्षित बस्न आग्रह गरेपनि आउने क्रम रोकिएको छैन । तीन दिनमा गरी करिब चार सयको हारहारीमा सीमानामा पुगेका नेपाली अलपत्र परेका छन् । केही आफ्नो जुगाडले आए भने अधिकांश उत्तर प्रदेश सरकारले दिल्लीबाट आफ्ना नागरिकलाई उद्दार गरेर ल्याउन पठाएको बसमा आएका छन् ।

दुई दिनदेखि सीमावर्ती भारतीय बजारमा बसेका नेपालीलाई भारतको सुनौलीका स्थानीय, प्रहरी र नेपालको बेलहियाका स्थानीय बासिन्दाले खानाको जोहो मिलाइ दिएका छन् । नाकामा रोकिएका नेपाली सर्वसाधरण सोमबार राति एकै साथ नेपाल प्रवेश गर्न खोजेपछि नेपालतर्फ तैनाथ सुरक्षाकर्मीले उनीहरुलाई रोक्दा धकेलाधकेल भएको थियो ।

सोमबार राति साढे ११ बजे सीमावर्ती भारतीय जिल्ला महाराजगंजका डीएम (प्रमुख जिल्ला अधिकारी), एसपी सीमाना पुगेर भारतीय बजारमा व्यवस्था गरिएको स्थानमा गएर सुत्न आग्रह गरेका थिए । तर, भारतमा पुनः गएपछि नेपाल फिर्ता जान नसक्ने त्रासका कारण उनीहरु रातीदेखि दशगजामा धर्ना बसेका छन् ।

राती सुत्नका लागि नेपाल प्रहरीले बिछ्याउन साम्रगी र भारतीय प्रहरीले ओढ्न साम्रगी दिएको थियो ।दिल्लीको कपडा उद्योगमा काम गर्ने अर्घाखाँची मालारानी ३ का सुनिल खनालले दिल्लीमा खान बस्न समस्या परेपछि घर फर्किन आशामा आएर सीमामा अलपत्र परेको बताए ।

अलपत्र परेका नागरिकको अहिले शरीरको तापक्रम नापजाचसहित ठेगाना विवरण संकलन गर्ने काम भइरहेको छ । खानाको प्रबन्ध रहेपनि यहाँ खाना बस्न समस्यै रहेको उनले सुनाए। ‘हामीहरु दुई दिनदेखि यहाँ अलपत्र अवस्थामा छौँ, सरकारलाई वास्ता छैन,’ उनले भने, ‘आफ्नो नागरिकको उद्दार गरेर सरकारले भित्रयाउनुपर्छ । हामीहरु १४ दिन क्वारेन्टाइनमा बसेर घर जान तयार छौँ।’

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकृत जनक थापाले नाकामा रहेका सर्वसाधरणहरुलाई मुलुकमा भित्रयाउनुका लागि हालसम्म निर्देशन नआएको र उनीहरुलाई भित्रयाउनुका लागि आन्तिरक तयारीमा जुटेको बताए।

प्रदेश नम्बर पाँच सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखी खानपिनको व्यवस्था निर्णय गरेको थियो। तर, मंगलबार साढे एक बजेसम्म उनीहरुलाई मुलुक प्रवेशको अनुमति दिइएको छैन।

तपाईको प्रतिक्रिया