धरान / धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले मंसिर १४ गते हुने निर्वाचनमा मेयर पदको उम्मेदवारीका लागि तयारी गर्न तथा पूर्ण समय धरान र धरानवासीको सेवामा समर्पित हुन भन्दै जागिरवाट स्वेच्छिक अवकाश लिएका छन् । उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् ।

अवकाश पत्र बुझ्दै निमित्त उपकुलपति खनालले प्रतिष्ठानमा लामो समयदेखि अनवरत रुपमा इमान्दारीपूर्वक विभिन्न पदीय जिम्मेवारीहरु वहन गर्नुका साथै पेशागत संगठनको समेत नेतृत्व गर्दै प्रतिष्ठान र प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी, अध्ययनरत विद्यार्थी र विरामी वर्गहरुको हीतमा तामाङले गरेको योगदानलाई प्रतिष्ठान परिवारले सदा स्मरण गरिरहने भन्दै राजनीतिक एवम् सामाजिक जीवनको पूर्ण सफलताका लागि शुभकामना दिएका छन् ।

तामाङले चौविसै घण्टा धरान र धरानवासीको सेवामा आफुलाई समर्पण गर्न धराने जनताको इच्छा र भावनाको कदर गर्दै जागिर छोडेर धराने जनतासामु आएको बताए । उनले नेपाली कांग्रेस पार्टीमा मेयर पदका लागि आफु सशक्त दावेदार रहेको जनाउंदै उम्मेदवारी र निर्वाचनको तयारीका लागि वेलैमा जागिरवाट अवकाश लिएको समेत बताए । धरानमा कुशल, योग्य र सक्षम साझा नेताको खोजी भईरहेको अवस्थामा आफुले धरानमा भ्रष्टार विरोधी, विकासप्रेमी, जनपक्षीय, गतिशील र लोकप्रिय यूवा नेताको छवि बनाउन सफल भएको बताउंदै धरानको राजनीतिक र सामाजिक क्षेत्रमा आफ्नो पूर्णकालीन आगमनले धरानवासीमा सकरात्मक सन्देश जाने उनले दावी गरे ।

तपाईको प्रतिक्रिया