शिक्षामन्त्री गिरीराजमणी पोखरेलले कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्येनजर गर्दै स्थगित गरिएको एसईई परीक्षाको बारेमा छिट्टै निर्णय हुने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभामा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले एसईई, कक्षा ११, कक्षा १२ लगायत लकडाउनका कारण रोखिएका परीक्षाहरुबारे छिट्टै निर्णय गर्ने बताएका हुन् । ‘महामारीका कारण अवरुद्ध भएको कक्षा १०,११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटीईभिटीका परीक्षाका सम्बन्धमा भएको अन्योलतालाई सरकारले तत्काल स्पष्ट पार्नेछ’, मन्त्री पोखरेलले भने ।
उनले शैक्षिक सत्र क्षति हुन नदिन अन्तिम गृहकार्य भइरहेको पनि मन्त्री बताए । जेठ ३२ गतेसम्म लकडाउन कायम रहेकाले त्यस लगत्तै सरकारले एसईई निर्णय गर्ने उनको भनाइ छ ।
मन्त्री पोखरेलले एसईईबारे तीनवटा विकल्पमा छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘एसईईबारे तीनवटा विकल्पमा छलफल भइरहेको छ। पहिलो खारेज गर्ने, दोस्रो अघिल्ला परिक्षाका आधारमा विद्यालयमै व्यवस्थापन गर्ने र तेस्रो राष्ट्रिय परिक्षा बोर्डले प्रमाणित गरिदिने विषयमा छलफल गरिरहेका छौँ ।’
उनले प्राप्त सुझावबमोजिम सिकाइ सहजीकरणसम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको पनि जानकारी गराए ।
त्यस्तै मन्त्री पाेखरेलले सामुदायिक विद्यालयको सुधारको जिम्मा निजी विद्यालयलाई नदिने प्रष्ट पारे । निजी विद्यालयबाट रकम लिएर कोष खडा गरी सामुदायिक विद्यालयको सुधारमा खर्च गरिने उनको भनाइ छ ।























