संसदमा बोल्न नपाएपछि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छिन् ।
शनिबार नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न संविधान संशोधन विधेयक २०७७ माथि प्रतिनिधिसभामा छलफल सुरु भएपछि बाहिरिएकी गिरीले आफूमाथि भइरहेका व्यवहारविरुद्ध अब आफूले युद्ध गर्ने बताएकी हुन् ।
आफू महिला भएकाले आफूमाथि यस्तो प्रहार भएको भन्दै उनले भनेकी छिन्, ‘या त मैले आत्महत्या गर्नुपर्छ, या म युद्धको मैदानमा उत्रिनुपर्छ । म अब युद्धको मैदानमा उत्रिएँ ।’
जनता समाजवादी पार्टीकी सांसद गिरीले सरकारले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी थिइन् ।
उक्त संशोधनलाई संसदमा सभामुख अग्निप्रसाद सापकोटाले संशोधनसम्बन्धी शर्त पुरा नभएकोले भन्दै अस्वीकृत गरेका थिए ।























