कोरोना रिर्पोट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेका नागरिकहरूले नाचगान गरेका छन् ।
सल्यानको कुमाख गाउँपालिका–५ स्थित सरस्वती माध्यमिक विद्यालय झारकाँडाको क्वारेन्टाइनमा बसिरहेका २६ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएपछि उनीहरूले नाचगान गरेका हुन् ।

‘कोरोना लागेपछि मरिहालिन्छ भन्ने प्रचार छ त्यस्तो अवस्थामा कोरोना रिर्पोट नेगेटिभ आउँदा निकै खुशी लागेको छ,’ खड्काबहादुर बुढाथोकीले भने ।
स्वाब संकलन भएको झन्डै दुई हप्तापछि नेगेटिभ रिर्पोट आउँदा निकै खुशी लागेको काँशीराज बुढाथोकीले बताए ।
घरपरिवार, समाज नै डराइरहेको समयमा आफूलगायत २६ जनाको रिर्पोट नेगेटिभ आउँदा खुशी भइ नाचगान गरेको उनले बताए ।
मंगलबार मात्र कुमाख गाउँपालिकाका–१ सय ५४ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको थियो भने एक जनामा पोजेटिभ देखिएको थियो ।
पिसिआर रिर्पोट नेगेटिभ आएका सबैलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश भण्डारीले बताए ।
कुमाख गाउँपालिकामा मात्र १८ वटा क्वारेन्टाइनमा पाँच सय १५ जना बसिरहेका छन् ।























