अमेरिका
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको शीर्ष सूचीमा संयुक्त राज्य अमेरिका छ। नेपाली समयअनुसार बुधबार राति ९ बजेसम्म अमेरिकामा २१ लाख ४१ हजार २ सय ७६ जना संक्रमित छन्। १ लाख १७ हजार ३० जनाको मृत्यु भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। अमेरिकी सहर न्युयोर्कमा मात्रै कोरोनाबाट मर्नेको संख्या ३० हजार ९ सय ९ पुगेको छ।

चीनको वुहानमा कोरोना संक्रमणले महामारीको रूप लिइसक्दा अमेरिकामा मार्च अन्तिमसम्म जम्मा ५० जनामा मात्र कोरोना देखिएको थियो। तर, अमेरिकी प्रशासनले कोरोना नियन्त्रणमा देखाएको चरम लापरवाहीका कारण संक्रमणले नयाँ रेकर्ड कायम गरेको हो। अमेरिकामा औपचारिक रुपमा लकडाउन घोषणा गरिएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्वकै सबैभन्दा कोरोना परीक्षण बढी हुने मुलुक अमेरिका भएको गर्व गर्छन्।

ब्राजिल

ब्राजिल कोरोना संक्रमणबाट बढी प्रभावित हुने मुलुकको सूचीमा दोस्रो स्थानमा छ। ब्राजिलमा संक्रमितको संख्या १० लाखनजिक छ। मृत्यु हुनेको संख्या ४५ हजार पार गरेको छ। ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक ब्राजिल कोरोनाको इपिसेन्टर बनेको छ। ब्राजिलमा कोरोना बढ्नुमा सरकारी निकायबीच समन्वय अभाव प्रमुख कारण हो। त्यहाँका राष्ट्रपतिले कोरोना भाइरस सामान्य फ्लु भएको र लकडाउन आवश्यक नभएको जोड दिँदै आएका छन्। दूरी कायम गर्नुपर्ने पक्षमा जोड दिँदै आएका स्वास्थ्यमन्त्रीलाई उनले अप्रिल मध्यतिर बर्खास्त गरे। त्यसपछि नियुक्त नयाँ स्वास्थ्यमन्त्रीले पनि आधा महिना नपुग्दै मन्त्रीपदबाट राजीनामा दिएकी छिन्। उनले पनि कोरोना संक्रमण नियन्त्रणका लागि दूरी आवश्यक रहेको बताउँदै आएका थिए। ब्राजिलमा फेब्रुअरी अन्तिममा पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो। तर, अहिले कोरोना नियन्त्रणबाहिर गइसकेको छ।

रसिया

रसियामा मार्च १६ सम्म संक्रमितको संख्या १ सयमुनि थियो। मार्च १७ मा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले स्थिति सामान्य अवस्थामा रहेको बताएका थिए। त्यसको एक सातामै संक्रमितको संख्या ५ सय नाघेपछि एक साताका लागि काममा जान रोक लगाए। सबैलाई अनिवार्य क्वारेन्टाइनमा जान निर्देशन दिए। मार्च ३१ देखि लकडाउन घोषणा भयो। कोरोना नियन्त्रण गर्न स्पष्ट नीति अभावमा रसियामा संक्रमण उच्च भएको विज्ञ बताउँछन्।

अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी संक्रमित रसियामा छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा नेपाली समयअनुसार बुधबार राति ९ बजेसम्म रसियामा ५ लाख ५२ हजारभन्दा बढी व्यक्ति संक्रमित छन्। ७ हजार ४ सयले ज्यान गुमाएका छन्।

भारत

कोरोना संक्रमणको उच्च जोखिम भएको मुलुकमा भारत अगाडि देखिएको छ। भारतले कोरोना नियन्त्रणका लागि तीन महिनादेखि लकडाउन लागू गरे पनि यसको कडाइका साथ पालना नगर्दा संक्रमण तीव्र बनेको हो। भारतले रेलवे सेवा सुरु गरिसकेको छ। विभिन्न प्रान्तमा लकडाउन खुकुलो बनाइनुका साथै एउटा प्रान्तबाट अर्काेमा निर्बाध आवतजावत गर्न दिइएका कारण कोरोनाबाट सिंगो भारत गाँजिएको छ। अर्कातर्फ भारतले मार्च २४ देखि मात्र लकडाउन घोषणा गरेको थियो।

भारत कोरोना संक्रमित उच्च हुने शीर्ष चार मुलुकमा पर्छ। भारतमा बुधबार रातिसम्म संक्रमितको संख्या ३ लाख ५२ हजार पुगेको छ। ११ हजार ९ सयले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट ब्राजिलभन्दा भारतमा बढीले ज्यान गुमाएका छन्। भारतमा कोरोनाको संक्रमण तीव्र भएसँगै छिमेकी नेपाल पनि उच्च जोखिममा छ। नेपालमा संक्रमितमध्ये एकतिहाइभन्दा बढी भारतबाट आउने व्यक्ति रहेको सरकारले जनाएको छ।

तपाईको प्रतिक्रिया