विराटनगरमा ८ महिनाको शिशुमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । विराटनगर १३ की संक्रमित महिलाको ८ महिने छोरामा कोरोना पोजेटिभ देखिएको हो ।
केही दिन अघि भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी ३६ वर्षीय महिलामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । आमामा काेराेना संक्रमण देखिएपछि विराटनगर महानगरपालिकाले ८ महिने छोराको स्वाब संकलन गरी परीक्षणका लागि पठाएकाे थियाे ।
प्रदेश जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा परीक्षण गर्दा छाेरामा पनि काेराेना पोजेटिभ देखिएकाे विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
आमाछोराको रिपोर्ट पोजेटिभ आएपछि दुई जनालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा लगिएको कार्कीले बताए ।
भारतको शिलगुढीबाट आएकी महिला होम क्वारेन्टाइनमा थिइन । वडा कार्यालयको सिफारिसमा महानगरपालिकाले उनलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिएको थियो ।
होम क्वारेन्टाइनमा बसेकी महिला र शिशुमा कोरोना देखिएपछि शुक्रबारबाट कन्ट्रयाक ट्रेसिङ गरिने कार्कीले बताए ।























