
सरकारले आज रातिदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।
लकडाउनलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै गृह मन्त्रालयले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको छ । असार १ गतेदेखि लकडाउन खुकुलो हुँदै गएकोे अवस्थामा सुरक्षा सतर्कता अपनाउन यस्तो मापदण्ड तयार पारेको गृह मन्त्रालयले जनाएको छ । राति हुने हिँड्डुलको अनुगमन भने प्रहरीले गर्ने जनाइएको छ ।
विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ । त्यस्तै, उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माणलगायतका काममा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै सबैलाई सचेत बन्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले अनावश्यक रुपमा हिँड्डुल नगर्न बताउदै हिँड्डुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम् दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवत–जावत गर्दा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न पनि गृहले बताएको छ । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रोत्साहित नगर्न पनि गृहले भनेको छ । गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।























