प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि खर्च गरेको रकम सार्वजनिक गरेको छ ।

प्रदेशसभाको मंगलबारको बैठकमा सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले खर्चको विवरण मागेपछि प्रदेश सरकारको तर्फबाट मन्त्री कार्कीले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

प्रदेश १ सरकारले निर्माण गरेको जनसुरक्षा कोषमा २९ करोड ५१ लाख ७३ हजार जम्मा भएको थियो । मंगलबारको प्रदेश सभामा बोल्दै मन्त्री कार्कीले कोषमा ९ करोढ ६९ लाख १ हजार ९ सय ७२ रुपैयाँ मौज्दात रहेको जानकारी दिए ।

कोषको रकम मुख्यमन्त्रीको कार्यालयले ५० लाख एक सय १५ रुपैयाँ खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले २ करोड खर्च गरेको छ ।

कोरोना नियन्त्रणको लागि कोषबाट सबैभन्दा बढी १५ करोड ३४ लाख आन्तरिक मामिला तथा कानून मन्त्रालयले खर्च गरेको छ ।

कोषबाट सामाजिक विकास मन्त्रालयले २ करोड ४८ लाख ७१ हजार २० रुपैया खर्च गरेको छ ।
कार्कीले प्रदेश सरकारले क्वारेन्टिन निर्माण तथा व्यवस्थापन, होल्डिङ एरिया निर्माण, कोभिड अस्पताल तथा सीमामा होल्डिङ एरिया व्यवस्थापन, स्थानीय तहलाई राहत व्यवस्थापनमा सहयोग, जिल्ला समन्वय समितिलाई अनुगमनका लागि सहयोग, स्वास्थ्य सामग्री ढुवानी र व्यवस्थापन जस्ता शीर्षकमा रकम खर्च भएको जानकारी दिएका छन् ।

उनले आन्तरिक लेखा परीक्षणपछि प्रदेश लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गर्ने बताए । । सम्बन्धित मन्त्रालयले कुन–कुन शीर्षकमा खर्च गरे भन्ने मन्त्रालयगत रुपमा पनि आउनेछ । सरकारले २० करोड ३२ लाख रुपैयाँ निकासा गरेको थियो ।

तपाईको प्रतिक्रिया