परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको छ ।

कृषि तथा उद्योग मन्त्रालयको तथ्यांकका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको समाचार आइरहेका बेला चीनले पनि सीमा विवाद गरेको विषय उठेपछि परराष्ट्र मन्त्रालयले सीमा विवादको बारेमा प्रस्ट पारेको हो ।

चीनले सीमा मिचेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा संकल्प प्रस्तावसमेत पेस गरिसकेको छ ।

तर, परराष्ट्र मन्त्रालयले भने सीमा विवाद पहिल्यै हल भइसेकेको जनाएको छ ।

नेपाल र चीन सीमाको विषयमा सन् १९६० मा सीमाको सुपरिवेक्षण र सन् १९६१ अक्टोबरमा सीमा सन्धि भएको थियो ।

सन् १९६२ मा नेपाल र चीनबीचको सीमांकन भएको र सन् १९६३ मा ब्राउन्डी प्रोटोकलमा हस्ताक्षर भएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए ।

उनका अनुसार हाल चीनसँग दोलखाको लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पाचुलीमा केही क्षेत्र सीमा मिचिएको भेटिएको छ ।

सीमाको सुपरिवेक्षण गर्दा ५७ नम्बरको पिल्लर जुन ठाउँमा हुनुपर्ने हो, सो ठाउँमा नरहेको भेटियो ।

लामो समय नभेटिएको सो सीमा स्तम्भ २०६२ सालमा भेटिएको थियो ।

आजको राजधानी दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया