मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आफ्नो कार्यकालमा कसैले पनि प्रहरीमाथि औंला तेस्र्याउने वातावरण नबनाउने प्रतिवद्धता जनाएका छन् । शान्ति सुरक्षालाई मजवुत बनाउनेदेखि लिएर अपराध नियन्त्रण एवं अनुसन्धानलाई अघि बढाउने क्रममा कोही कसैले पनि प्रहरीमाथि प्रश्न गर्ने वातावरण नबनाउने हिसाबमा आफू अघि बढ्ने उनको भनाइ छ ।
कानुनी व्यवस्थाको अधिनमा रहेर अशल शासन स्थापित गर्ने गरी प्रहरीले काम कारबाही अघि बढाउने उनले बताए । खड्का मोरङ प्रहरी प्रमुख भएर चार दिन अघि मात्रै विराटनगर आइपुगेका हुन् । विराटनगरमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रम राखेर उनले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने सवालमा कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पारे ।

मोरङलाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उनको भनाइ छ । प्रदेश १ को राजधानी पनि भएकाले विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहने हुँदा त्यही हिसाबमा प्रहरीको काम कारबाही अघि बढाइने एसपी खड्काको भनाइ छ । अन्तर्राष्ट्रिय नजर पर्ने भएकाले पनि मोरङको शान्ति सुरक्षाको सवालमा सधैं चनाखो हुनु पर्ने कुरामा आफू सजग रहेको एसपी खड्काले बताए ।
सुरक्षा सवालमा खडा हुने जुनसुकै चुनौतीलाई पनि पार लगाउँदै ऐन कानुनले निर्देशित गरेअनुरुप अघि बढ्ने उनको प्रतिवद्धता छ । समाजलाई असर गरिरहेका कुरा र त्यसले भोलिका दिनमा ल्याउन सक्ने समस्यालाई मध्य नजर गर्दै प्रहरीले काम कारबाही अघि बढाउने खड्काले बताए ।
अनुसन्धान थाती रहेका पुराना अपराधिक घटनाका फायल पल्टाएर आफ्नो कार्यकालमा सबै खालका अनुसन्धान पूरा गर्नेतर्फ पनि केन्द्रीत हुने उनको भनाइ छ । मान्छेका ज्यान गएकादेखि लिएर केही अपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पूरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा पूरा गर्ने उनको अठोट छ । आफ्नो सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चने खड्काले बताए ।























