कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वभर १५८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
यसैगरी विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ ।
विदेशमा रहेका १८ हजार ७०० नेपाली संक्रमणमुक्त भएका छन् भने खाडी मुलुकमा रहेका ८ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ ।
एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ ।
साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड–१९ का कारण मृत्यु भएको छ ।
यसैगरी डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली संक्रमणबाट मुक्त भएका छन् ।























