
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन विभिन्न षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।
मदन भण्डारीको ६९औं जन्मोत्सवका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरेपछि भारतले भारतीय मिडियामार्फत् आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै त्यो प्रयास सफल हुन नदिने बताए ।
ओलीले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्नेपनि बताउनुभयो ।
नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत् प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै यतिबेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर बनाउने खेल नखेल्न पनि चेतावनी दिए ।
उनले यसअघि चीनसँग पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको तर अहिलेको सरकारमा कम्युस्टिको बहुमत भएकाले आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्दा अपराध गरेजस्तो गरी आफूलाई ‘पदबाट हटाउने कुरा कसैले पनि नसोचे हुन्छ’ भनी चेतावनीसमेत दिएका छन् ।























