जनकपुरधाम / प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले दलितहरुलाई अधिकार प्राप्तीको लागि पुरानो सोच त्याग्नु पर्ने बताउनु भएको छ । दलित महिला संघद्वारा आज जनकपुरमा आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारी विषय प्रदेश स्तरीय सम्मेलनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले दलित समुदायलाई आधुनिक सोचका साथ अघि बढनु पर्ने आवश्यकता औल्याउनु भयो ।

शिक्षामा पछि परेकै कारण दलित समुदायले आफनो अधिकार उपयोग गर्न नसकेको उल्लेख गर्नु हुँदै उहाँले शिक्षा प्रति जागरुक बनाउन दलित जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो ।

उत्पिडित समुदायको हक अधिकारको सुनिश्चितता तथा समतामुलक सहभागिताको लागि प्रदेश सरकार एक पछि अर्को कार्यक्रम ल्याई रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सभामा छलफलमा रहेको दलित सशक्तिकरण ऐन सबै समस्याहरुको एकमुष्ट समाधान दिने विश्वास व्यक्त गर्नु भयो ।

उद्घाटन सत्रमा विशिष्ट अतिथि प्रदेश सरकारका अर्थमन्त्री एवं समाजवादी पार्टी मधेश प्रदेश समितिका अध्यक्ष विजय कुमार यादवले परिवर्तनको आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेका दलित समुदायलाई आफनो अधिकार खोज्ने अवस्था अझै रहनु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।

आफनो पार्टी समानताकै लागि संघर्ष गर्दै प्रदेश २को सरकारको नेतृत्व गर्ने अवसर पाएकाले दलितहरुको हक अधिकारको सुनिश्चितताको लागि प्रदेश सरकार गम्भीर रहेको उहाँको कथन थियो । दलित महिला संघका अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संघका संस्थापक नेतृ तथा समाजवादी पार्टीका केन्द्रिय सचिव दुर्गा सोव लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया