मोरङ / बूढीगंगा  गाउँपालिका–४ पोठियाका १७ वर्षीय यूवकलाइ अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट गरेकाे भिडियो सार्वजनिक भएको छ । मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि नउसादमाथि बूढीगंगा–४ का सादीर मियाँ, अंसद मियाँ, अफजल मियाँ र बूढीगंगा–५ का आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको भिडियाे सार्वजानिक भएकाे हाे । प्रहरीका अनुसार घटनामा संलग्न मध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट गरेको जनाएकाे छ ।

वडा अध्यक्षका छोराले बोलाएका छन् भन्दै गत बिहीबार साँझ ५ बजे घरैबाट एक किलोमिटर जति परको खुल्ला चउरमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताएका छन् । अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा आइतबार साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताए । घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिएका रहेछन्,’ उनले भने, ‘त्यही धम्कीपछिको डरका कारण चार दिनसम्म घटनाका बारेमा उस (छोरो) ले परिवारमा सुनाएन ।’ नउसादका ठूलो बुवा कलिमुद्धिन मियाँले घरमा लुगा धोइरहेका बेला बोलाएर लगेर भतिजोमाथि सामूहिक आक्रमण गरिएको बताए । उनका अनुसार कुटपिटबाट ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

पीडित किशोरका परिवारले सोमबार चारै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले घटनामा संलग्न चारै जना फरार रहेका कारण खोजी भइरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया