कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश १ मा ४ सय १८ जनाले आत्महत्या गरेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरकाे तथ्याङ्क अनुसार चैत ११ गतेदेखि असार १७ गतेसम्म प्रदेश १ का १४ जिल्लामा ४ सय १८ जनाले आत्महत्या गरेका हुन् । जसमा २९१ जना पुरुष, १४४ जना महिला, ३४ जना बालिका र २१ जना बालक रहेका छन् ।
याे अवधिमा आत्महत्या गर्ने धेरै पुरुष देखिएका छन् । त्यस पछि क्रमश महिला, बालिका, बालक रहेका छन् । लकडाउनको अवधिमा धेरैले झुण्डिएर आत्महत्या गरेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार ३७६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसै गरी बिष सेवन गरेर ३४ जनाले आत्महत्या गरेका छन् । साथै हामफालेर ५ जना र औजार प्रयाेग गरेर ३ जनाले आत्महत्या गरेका प्रदेश प्रहरीकाे तथ्याङ्कले देखाउछ ।
प्रदेश १ का १४ जिल्ला मध्ये माेरङमा सबै भन्दा धेरै ७८ जनाले आत्महत्या गरेकाे प्रवक्ता पोखरेलले जानकारी दिए । त्यसै गरी झापामा ७६ जना, सुनसरीमा ५८ जना र इलाममा ३७ जनाले आत्महत्या गरेकाछन् । त्यस्तै उदयपुरमा २८ जना, खाेटाङमा १९ जना र भाेजापुरमा १७ जनाले आत्महत्या गरेकाे प्रहरीकाे तथ्याङ्कमा छ । ओखलढुङ्गा, पाँचथर र साेलुखुम्बुमा १६/१६ जनाले लकडाउनको अवधिमा आत्महत्या गरे । साथै तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा १४/१४ जना र धनकुटाका १५ जनाले आत्महत्या गरेका छन् ।























