संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन्। काठमाडौंमा उत्तर कोरियाको दूतावास त छ, तर सामान्य कूटनीतिक सम्बन्धबाहेक कोही पनि सम्पर्कमा जान चाहँदैनन्।
नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने उत्तर कोरियाली तत्कालीन शासक किम इल सुङको स्मृतिसभामा प्रमुख अतिथि बनेर सोमबार दूतावास गए। ललितपुरको झम्सीखेलस्थित उत्तर कोरियाली दूतावासको सभाहलमा स्मृतिसभा राखिएको थियो।
उत्तर कोरियाका तत्कालीन नेता किम इल–सुङको सन् १९९४ जुलाई ८ मा निधन भएको थियो। उनी सन् १९१२ अप्रिल १५ मा जन्मिएका थिए। उनले सन् १९४८ देखि १९९४ सम्म उत्तर कोरियामा शासन गरेका थिए।
दूतावासले किम इल सुङको २६औं स्मृतिदिवस मनाएको हो। स्मृतिसभामा नेकपाका वरिष्ठ नेता नेपालले किम इल सुङले उत्तर कोरिया निर्माणमा खेलेको भूमिकाको चर्चा गरेका थिए। उनले उत्तर कोरिया र नेपालको सम्बन्ध एवं इतिहासबारे आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनलगायत दूतावासका अधिकारीहरूको उपस्थिति थियो। उक्त अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति थिएन। उनीहरू उत्तर कोरियाली कार्यक्रममा जाँदैनन्।
संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीका कारण विश्वका अन्य मुलुकका नेताहरू उत्तर कोरियासँग टाढा बस्न चाहन्छन्। नेपालका कम्युनिस्ट नेताहरूको भने उत्तर कोरियाप्रतिको मोह अनौठो छ। संयुक्त राष्ट्रसंघको नाकाबन्दीका बाबजुद नेपालका कम्युनिस्ट नेताहरू उत्तर कोरियाको भ्रमण गर्ने र उत्तर कोरियाली दूतावाससँग नजिकिने गरेका छन्।
परराष्ट्र मन्त्रालयको सुझावलाई इन्कार गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले २०७४ साउन २७ गते उत्तर कोरियाको राजधानी प्योङयाङको भ्रमण गरेका थिए। त्यसबेला कोरियाली प्रायद्वीपमा बढेको तनावका कारण परराष्ट्र मन्त्रालयले नेता नेपाललाई उत्तर कोरियाको भ्रमण गरे विश्वभर मुलुकको गलत सन्देश जान सक्ने राय दिएको थियो। तर, परराष्ट्रको सुझाव नमानी नेता नेपालले त्यसबेला उत्तर कोरियाको भ्रमण गरेका थिए।
त्यसबेला उनी कूटनीतिक जगत्मा आलोचितसमेत बने। संयुक्त राष्ट्रसंघको नाकाबन्दीकै कारण वर्तमान सरकारले नेपालमा भएका उत्तर कोरियाको सम्पूर्ण लगानी बन्द गराएको थियो। राष्ट्रसंघ र नेपालस्थित अमेरिकी दूतावासको पटकपटकको दबाब थेग्न नसकी वर्तमान सरकारले उत्तर कोरियाली लगानी बन्द गराएको थियो। उत्तर कोरियाली संरक्षणमा सञ्चालित अस्पताल, रेस्टुरेन्ट, सूचना प्रविधिका कम्पनीहरू राष्ट्रसंघीय नाकाबन्दीका कारण गत डिसेम्बरबाट बन्द छन्।
उत्तर कोरियालीहरूले आफ्ना लगानीमा सञ्चालन भएका कतिपय कम्पनीहरू चिनियाँ व्यापारीलाई बिक्री गरे भने केहीले कम्पनी नै बन्द गरेर प्योङयाङ फर्किएका थिए। तैपनि उत्तर कोरियासँग नेपालका अधिकांश कम्युनिस्ट नेताहरूको सम्बन्ध घनिष्ट छ। शम्भु कट्टेलले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।























