सर्दु खोलाले एक जनालाई बगाएर बेपत्ता बनाएको छ ।
केही दिन देखि परेको अविरल वर्षका कारण सर्दु खोलामा आएको बाढीले धरान–१३ राई टोलमा बस्दै आएका अन्दाजी ६५ वर्षीय रामबहादुर बस्नेतलाई बगाएर बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उदयपुरको गाईघाट घर भएको र भूतपूर्व भारतीय सैनिक समेत रहेका रामबहादुर बस्नेतलाई आज ३ बजे तिर खोलाले बगाएको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनका अनुसार उनी सर्दु खोला पारी धान रोप्न गएको बेला खोलाले बगाएको हो ।
बस्नेतको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा खोजी कार्य जारी रहेको बताइएको छ ।























