कोरोना भाइरसको कारण  अवरुद्ध भएको शैक्षिक क्रियाकलापहरु पुन संचालन गराउनको लागि  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटि परिक्षण गरिएको छ ।  ठप्प भएको पठन पाठनलाई साउन ७ गतेबाट सुचारु गराउनको लागि गाउँपालिका बाहिरबाट गाउँपालिका भित्रिएका शिक्षक/शिक्षिकाको हरुको शनिबार आरडिटि परिक्षण गरिएको र सबै को  रिपोर्ट भने नेगेटिभ नै आएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । कोरोना भाइरसले त्रसित रहेको समयमा यसरी टोल टोलमा गएर पठन पाठन गराउदा संक्रमण फैलने जोखिम कम गर्न र संक्रमणको त्रास पनि नहोस् भनेर आरडिटि परिक्षण गरेको अध्यक्ष राईले बताए । अध्यक्ष राईले कोरोनाको जोखिम रहिरहेको अवस्थामा विद्यार्थीहरु ठूलो मारमा परेकोले वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु अगाडि बढाइएको बताए । विद्यार्थीहरु शिक्षण सिकाईबाट बञ्चित नहोस् भन्ने उद्देश्यले अगामी साउन ७ गतेबाट भौतिक दुरीसहित सुरक्षाका विभिन्न उपायहरु अपनाएर पठन पाठनलाई सुचारु गराउन लागिएको बताए । पठन–पाठनका लागि आईतबार अनिवार्य विद्यालयमा उपस्थित भएर आ–आफ्नो विषयको कार्यतालिका निर्माण गर्ने र साउन ७ गतेदेखि टोल वस्तीमा पुगेर शिक्षण सिकाई कार्य अघि बढाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।  एक टोलमा दैनिक एक विषयको पठन–पाठन गरिने गाउँपालिका अध्यक्ष राईले बताएका छन् ।  ७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् । उनीहरुको शिक्षण सिकाईका लागि बाल बिकास केन्द्रमा कार्यरत सहित २७६ शिक्षक÷शिक्षिकालाई परिचालन गर्ने तयारी गरिएको छ ।  बैशाखबाट सुरु हुनुपर्ने शैक्षिक गतिविधि हालसम्म ठप्प छ । जसले गर्दा सिकाई उपलव्धी पनि शुन्य रहेको अवस्थामा विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ । अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्य  हुने अवस्था पनि देखिन्न। महामारी रहिरह्यो भन्दैमा सिकाई उपलव्धीबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन। त्यही भएर भौतिक दुरी कायम गरेर पठन–पाठन सुचारु गराउने निर्णय गरिएको हो।’ शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा भने कटौती गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । टोल–टोलमा गरिने शिक्षण क्रियाकलापका लागि नजिक र पायक पर्ने विद्यालयलाई प्रयोग गर्न सकिने जनाइएको छ। विद्यालयको भवन प्रयोग गर्ने अवस्था नभए सामुदायीक भवन, महिला तथा युवा समुहको भवन वा अन्य सार्वजनिक स्थललाई उपयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया